खेलकूद

बायर्न म्युनिख रेडबुललाई ३–१ ले हराउँदै नकआउट चरणमा

हिमालय टिभी
२०७७ मंसिर ११ गते ८:१४
बायर्न म्युनिख रेडबुललाई ३–१ ले हराउँदै नकआउट चरणमा

११ मंसिर, २०७७ काठमाडौं । बायर्न म्युनिख च्याम्पियन्स लीग फूटबलको नकआउट चरणमा पुगेको छ ।

समूह ए अन्तर्गत एफसी रेडबुल साल्ज्बर्गलाई ३–१ गोलले हराउँदै बायर्नले दुई खेल अगावै अन्तिम १६ मा स्थान पक्का पारेको हो । घरेलु टोली बायर्नले ४२ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलसँगै खेलमा अग्रता बनायो ।

त्यसपछि किंग्स्ले कोम्यानले ५२ औं र लेरोय साने ६८ औं मिनेटमा गोल गरेपछि बायर्नले खेलमा ३–० को अग्रता बनायो । बायर्नका मार्क रोका ६६ औं मिनेटमा दोहोरो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । रेड बुलका लागि मेरगिम बेरिशले ७३ औं मिनेटमा सान्तवना गोल फर्काए ।

बायर्नले ४ खेलबाट १२ अंक जोडेको छ । यही समूहको अर्को खेलमा एट्लेटिको मड्रिड र लोकोमोटिभ मस्को गोलरहित बराबरीमा रोकिए । पाँच अंकसहित एट्लेटिको दोस्रो स्थानमा छ ।

उता समूह सी मा म्यानचेष्टर सिटीले ओलम्पियाकोसलाई १–० ले स्तब्ध बनाउँदै नकआउट चरण प्रवेशको सम्भावना थप बलियो बनाएको छ । सिटीको जितमा ३६ औं मिनेटमा फिल फोडिनले गरेको गोल नै निर्णायक रह्यो ।जितपछि शीर्ष स्थानको सिटीको ४ खेलबाट १२ अंक बनाएको छ ।

यही समूहको अर्को खेलमा एफसी पोर्टोले मार्सेइलीलाई २–० ले हरायो । पोर्टो तालिकाको दोस्रो स्थानमा छ ।

यस्तै च्याम्पियन्स लीग अन्तर्गत समूह बी मा बोरोसिया मोन्चेनग्लाडबाचले शाक्टर डोनेस्कलाई ४–० र रियल मड्रिडले इन्टर मिलानलाई २–० तथा समूह डीमा एटलान्टाले लिभरपुललाई २–० र आयाक्सले एफसी मिड्जील्याण्डलाई ३–१ गोलले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्