Main News

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषदको अनुमति

हिमालय टिभी
२०७७ मंसिर ११ गते ७:४३
सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषदको अनुमति

११ मंसिर, २०७७ काठमाडौं । सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो । भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका स्वीकृति प्रदान गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७५–७६ देखि शुरु भएको सगरमाथाको उचाई मापन गर्ने काम सकिएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथा उचाइ औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले बताउनुभयो ।

सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाई मापन गरेको छ । सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो ।

त्यही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो ।

मन्त्रिपरिषदद्वारा स्वीकृति प्रदान भइसकेपछि अब केहीदिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ । सन् २०१९ मा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो ।

त्यही अनुसार नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए । यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए ।

पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर हालसम्म कायम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *