Main News

वीर अस्पतालमा निरन्तर आन्दोलन, कतैबाट भएन सुनुवाइ (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १० गते १९:५६
वीर अस्पतालमा निरन्तर आन्दोलन, कतैबाट भएन सुनुवाइ (भिडियोसहित)

१० मंसिर, २०७७ काठमाडौं । वीर अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी एक महिनाभन्दा लामो समयदेखि आन्दोलनमा छन् । कोरोना उपचारका लागि खटिँदाको जोखिम भत्ता पाउनुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलनमा उत्रिए पनि अहिलेसम्म सुनुवाइ भएको छैन । त्यसैले वीरका कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलन अझै चर्काउने तयारीमा छन् ।

विगत एक महिनादेखि वीर अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीले बिहानबिहान यसरी नै अस्पताल अगाडि नाराबाजी गरिरहेका छन् ।

अहिलेसम्मको जोखिमभत्ता र वर्षौदेखि खाइपाइ आएको वार्षिक उपचार खर्च पाउनुपर्ने, अस्पतालमा कोभिडको मात्र नभई अरु सेवा पनि विस्तार गरिनुपर्ने, गुणस्तरीय उपकरण तथा व्यक्तिगत सुरक्षाका सामग्री उपलव्ध गराउनुपर्ने लगायतका माग आन्दोलनरत कर्मचारीको छ ।

स्वास्थ्यकर्मीले कोरोना संकटको बेला घर परिवारको बेवास्ता गर्दै पनि काम गरिरहेका छन् । तर सरकारले घोषणा गरेका सेवा सुविधा पनि उनीहरुले पाएका छैनन् । लामो समय आन्दोलन गर्दा पनि अस्पताल प्रशासनले नसुनेकोमा उनीहरु आक्रोशित छन् ।

अहिले वीर अस्पतालका करिव १५ सय कर्मचारी आन्दोलनमा छन् । उनीहरुले आफ्नो माग स्वास्थ्य मन्त्रालयमा पनि बुझाएका छन् । तर मन्त्रालयले पनि कुनै वास्ता गरेको छैन । नियमित सेवा सञ्चालन गर्दै गरिएको आन्दोलनमा चिकित्सकले समेत एेक्यबद्धता जनाएका छन् ।

कर्मचारीले अहिले न्याम्सका पदाधिकारीलाई अस्पताल प्रवेश गर्न दिएका छैनन् । र आन्दोलन झन चर्काउने उनीहरुको तयारी छ । लामो समयदेखि दिनहुँ आन्दोलन गर्दा पनि वीर अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीका मागको सुनुवाइ नहुनु दुखद् छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *