Main News

बर्दिबासमा प्रहरीले गोली चलायो, गोली लागेर दुई जना घाइते, एकको अवस्था गम्भीर

हिमालय टिभी
२०७७ मंसिर ९ गते १५:१४
बर्दिबासमा प्रहरीले गोली चलायो, गोली लागेर दुई जना घाइते, एकको अवस्था गम्भीर

९ मंसिर, २०७७, महोत्तरी । बालिका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले महोत्तरीको बर्दिबासमा गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

पूर्वपश्चिम र वीपी राजमार्ग अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएकालाई तितरवितर पार्न प्रहरीले गोली चलाएको हो । गोली लागेर दुई जना घाइते भएका छन् ।

चार वटा गोली लागेका बर्दिवास नगरपालिका वडा नम्बर १ का श्याम कार्कीको अवस्था गम्भीर छ । सञ्जय भनिने बुद्धिराज न्यौपानेको दाहिने तिघ्रामा गोली लागेको छ । घाइते दुवैजनाको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई हेलिकप्टबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

अहिले अस्पताल वरपरको वातावरण तनावपूर्ण छ । प्रहरीले अश्रुग्यास पनि हानेको छ । बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि लगेको जनाइएको छ । प्रहरीले प्रदर्शनकारीको ढुंगा प्रहारबाट आफ्नोतर्फ पनि केही घाइते भएको जनाएको छ ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ का शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको थियो । आइतबार साँझदेखि बेपत्ता भएकी बालिकाको शव गएराति घर नजिकैको खेतमा फेला परेको थियो ।

बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईंले जानकारी दिनुभयो । बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका स्थानीयले गरेका छन् ।

हत्या आरोपमा गौशाला नगरपालिका वडा नम्बर ५ घर भई बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुणकुमार साह पक्राउ परेका छन् । आरोपितको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै रोकिएको छ । दमकल नपुगेका कारण तीन तले घर पूर्ण रुपमा जलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *