राजनीति

ओलीले ल्याउने राजनीतिक प्रस्तावले पार्टीको भविष्य निर्धारण गर्छः अध्यक्ष प्रचण्ड

हिमालय टिभी
२०७७ मंसिर ८ गते १८:५१
ओलीले ल्याउने राजनीतिक प्रस्तावले पार्टीको भविष्य निर्धारण गर्छः अध्यक्ष प्रचण्ड

८ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ल्याउने जवाफी राजनीतिक प्रस्तावले पार्टीको भविष्य निर्धारण गर्ने बताउनुभएको छ ।

स्थायी समिति सदस्य हरिबोल गजुरेल र टोपबहादुर रायमाझीसँगको भेटमा प्रचण्डले पार्टीभित्रको विवाद समाधान हुन्छ या अझ चर्किन्छ भन्ने विषय ओलीको प्रस्तावमा भर पर्ने बताउनुभएको हो ।

कार्यकारी अध्यक्ष प्रचण्डले आफूले मात्र चाहेर पार्टी फुटबाट नजोगिने भन्दै प्रधानमन्त्री ओलीको पनि चाहना हुनुपर्ने बताएको नेता गजुरेलले जानकारी दिनुभयो ।

आफूहरुले प्रचण्डलाई लचिलो हुन आग्रह गर्दा प्रचण्डले ओली लचिलो हुनु आवश्यक रहेको जवाफ दिएको पनि गजुरेलले जानकारी दिनुभयो । रायमाझी र गजुरेलले पार्टी फुटबाट जोगाउने उपाय खोज्न र नयाँ ढंगले पार्टीलाई लैजान प्रचण्डलाई आग्रह गर्नुभएको छ ।

प्रचण्डले ओली पार्टीलाई एकताबद्ध बनाउन गम्भीर नदेखिएको र देशैभर गुट सक्रिय पारेको आरोप लगाउनुभएको छ । दोस्रो तहका नेताहरु संवादहीनताको स्थितिमा पुगेका दुई अध्यक्षबीच संवाद गराउने प्रयासमा लागेका छन ।

हिजो पनि रायमाझी र गजुरेल सहितको नेताले ओलीलाई भेटेर पार्टीलाई फूटबाट जोगाउन आग्रह गरेका थिए । पार्टी एकताको रक्षाका लागि दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको उनीहरुको मत छ । प्रचण्डले आफूले पेस गरेको प्रतिवेदन फिर्ता नलिने अडान राख्दै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्