विराटनगर एयरपोर्टलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुल्यो (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ७ गते २०:२५
विराटनगर एयरपोर्टलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुल्यो (भिडियोसहित)

७ मंसिर, २०७७ विराटनगर । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नका लागि बाटो खुलेको छ । सरकारले विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्नका आवश्यक जग्गा अधिग्रहण गर्ने स्वीकृति दिएसँगै विमानस्थल विस्तारको बाटो खुलेको हो । अब चाँडै नै विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ३ हजार मिटरको धावन मार्ग बनाउने काम शुरु हुनेछ ।

कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर विमानस्थल विस्तारका लागि १२६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिएको छ । योसँगै अब यो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ३ हजार मिटरको धावन मार्ग बनाउने योजनाका काम अघि बढाउन बाटो खुलेको छ । जग्गा अधिग्रहणका लागि आवश्यक खर्च मध्ये प्राधिकरणले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशतले व्यहोर्ने समझदारी छ ।

विराटनगर विमानस्थललाई काठमाडौंको त्रिभुवन विमानस्थल र भैरहवाको गौतमबुद्ध विमानस्थलकै स्तरमा पुग्नेगरी क्षमता अभिवृद्धि गरिनेछ। हलको अवस्थामा १५ सय मिटर लम्बाईको विमानस्थलको धावनमार्ग दोब्बर पारेर ३ हजार मिटरको बनाइने छ ।

विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिसम्बन्धी गुरुयोजना तयार गरी त्यसअनुसार जग्गा अधिग्रहण र मुआब्जा वितरणसमेतका लागि सरकारबाट गर्ने निर्णयको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणले पाएको छ । अब विराटनगर नागरिक उड्डयन प्राधिकरणले डिजाइन, डीपीआरसहितका कार्ययोजना लगायत आवश्यक कामसमेत अघि बढाउने छ ।

विमानस्थल विस्तारका लागि गत वर्ष उत्तर–दक्षिण चौडाईका लागि आवश्यक केही जमिन सरकारले अधिग्रहण गरिसकेको छ । विमानस्थल ३ हजार मिटरमा विस्तार भए धावनमार्गको मध्यविन्दुबाट १७० मिटर उत्तरदक्षिण चौडाई आावश्यक पर्ने हुँदा थप जमिन अधिग्रहण गर्नुपर्ने छ ।

विराटनगर विमानस्थल २५ सय मिटरमा विस्तार गर्दा पश्चिम केशलिया नदी पूर्वका जग्गा अधिग्रहण हुनेछ । तर, धावनमार्ग ३ हजार मिटरमा विस्तार गर्ने तय भएपछि नदीमा पुल हाल्नुपर्ने वा नदीको बहाव परिवर्तन गर्नुपर्ने भएको छ । तर, तत्काललाई जग्गा अधिग्रहणको काम अगाडि बढे पनि विमानस्थल भने २५ सय मिटरमै विस्तार हुनेछ ।

अहिले ७२ सिट क्षमता भएका पाँच वटा जहाज राख्न मिल्ने वायुयान एप्रोन, धावनमार्ग र एप्रोनलाई जोड्ने दुई वटा ट्याक्सी वे, वायुयान पथ, रात्रि उडान र अवतरणका लागि एयरफिल्ड लाइटिङ सिस्टम, अग्निनिवारण तथा उद्धार सेवा, हवाई इन्धन, हवाई सञ्चार सेवा, हवाई ट्राफिक नियन्त्रक सेवा, मौसमी सेवाजस्ता पूर्वाधारहरू छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *