Political Hightlights

कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री ओलीको गोप्य भेटवार्तामा के के भागभण्डा भए ?

हिमालय टिभी
२०७७ मंसिर ७ गते १८:४४
कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री ओलीको गोप्य भेटवार्तामा के के भागभण्डा भए ?

७ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गर्नुभएको छ ।

आफ्नो पार्टीभित्र संकट गहिरिँदै जाँदा ओलीले शनिबार तीन घण्टा देउवासँग गम्भीर परामर्श गर्नुभएको हो ।

कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री ओलीले देउवासँग भेटेको पुष्टि गर्नुभएको छ । तर भेटमा के कुरा भयो भन्नेबारे लेखकले खुलाउन चाहनुभएन । तर कांग्रेसले भेट भएको पुष्टि गर्दा पनि प्रधानमन्त्री ओलीको सचिवालयले भने भेट नभएको बताइरहेको छ ।

देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय, संवैधानिक निकायमा नियुक्तिसँगै सत्ता साझेदारीको प्रस्ताव गरेको स्रोतहरुको दावी छ । कांग्रेसका एक नेताले पार्टीभित्र संकटका बेला ओलीले कांग्रेसको साथ चाहेको बताएका छन् ।

संवैधानिक नियुक्तिका सम्बन्धमा प्रधानमन्त्री ओली र कांग्रेस नेता देउवाबीच पटक–पटक संवाद हुँदै आएको छ ।

कांग्रेस स्रोतका अनुसार सभापति देउवाले अख्तियार र निर्वाचन आयोगमा कांग्रेसलाई भाग दिनुपर्ने अडान राखेका छन् । भागबन्डाका विषयमा सहमति गर्न नेकपाका नेता सुवासचन्द्र नेम्वाङ र कांग्रेस नेता रमेश लेखकलाई जिम्मेवारी दिइएको छ । तर, पटकपटक छलफल हुँदासमेत संवैधानिक नियुक्तिका विषयमा सहमति भने जुटेको छैन ।

यसअघि पनि पार्टीको विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री ओलीले गत असार १७ गते पनि कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्नुभएको थियो ।

यस्तै असार २१ गते प्रधानमन्त्री ओलीले दूतका रुपमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई बुढानिलकण्ठ भेट्न पठाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्