आर्थिक

शेयर कारोबारमा अर्को कीर्तिमान

हिमालय टिभी
२०७७ मंसिर ७ गते १६:५७
शेयर कारोबारमा अर्को कीर्तिमान

७ मंसिर, २०७७ काठमाडौं । बढ्दो क्रममा रहेको शेयर बजारमा आज कारोबार रकमले अर्को कीर्तिमान बनाएको छ ।

गत बिहीबार ६ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा आज त्यो भन्दा ७६ करोड धेरैको शेयर किनेबेच भएको छ । आज भएको ६ अर्ब ८७ करोडको कारोबार नेप्से इतिहासकै धेरै हो ।

कारोबार रकमले कीर्तिमान बनाएको दिन आज नेप्से चार दशमलव ६९ अंकले बढेर १७ सय ८२ दशमलव ८१ बिन्दुमा उक्लिएको छ । आज दिनभरीको कारोबारमा नेप्सेमा ४९ अंकको उतार चढाव देखिएको छ ।

बजार खुले लगत्तै बढेको नेप्से एक समय १८ सय १० बिन्दुमा पुगेको थियो । तर २ बजेर २३ मिनेटमा नेप्से १७ सय ६१ बिन्दुसम्म झरेको थियो । तर बजार बन्द हुने बेलामा चार दशमलव ६९ अंकले बढ्यो ।

यसअघि स्थिरजस्तै देखिएको बैंकसहित विकास बैंक र अन्य समूहको सूचक बढेकाले आज नेप्से सामान्य बढेको हो । यसअघि अरु उपसमूहबाट नाफा बुक गरेर लगानीकर्ता आज बैंकको शेयरतिर आकर्षित भएका हुन् ।

जसले गर्दा आज बैंक विकास बैंक र अन्य समूह बाहेक अरु सबै उपसमूह घटेका छन् । सुचिकृत कम्पनीहरुले प्रथम त्रैमासिकमा सोचेभन्दा राम्रो वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

यस्तै सूचीकृत कम्पनीहरुले धमाधम लाभांश प्रस्ताव गरेर साधारण सभा पनि बोलाइ रहेका छन् । यस बाहेक बैंकिङ प्रणालीमा लगानी योग्य रकम थुप्रिएको छ र शेयर लगानीकर्ताले सस्तो ब्याजमा सहजै कर्जा पाइरहेका छन् । यी सबै कारणले शेयर बजार बढ्न सहयोग पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *