Main News

कक्षा १२ को परीक्षाको तयारी पूरा, परीक्षा ९ गते शुरु हुने

हिमालय टिभी
२०७७ मंसिर ७ गते १३:०३
कक्षा १२ को परीक्षाको तयारी पूरा, परीक्षा ९ गते शुरु हुने

७ मंसिर, २०७७ काठमाडौं । कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले सबै विद्यालयमा उत्तर पुस्तिका पुर्‍याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गर्नेसहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

केही परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको तथा नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अघि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको बोर्डको भनाइ छ ।

परीक्षा स्थगित हुने हल्लामा नलाग्न पनि उहाँले आग्रह गर्नुभएको छ । अहिलेसम्मको अवस्थामा परीक्षा स्थगित हुने कुनै पनि सम्भावना नरहेको अर्यालले बताउनुभयो । विद्यार्थीको चाहनाअनुसार होम सेन्टरमै परीक्षा सञ्चालन हुनेछ ।

कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । त्यस्तै कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ ।

बोर्डले परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र कर्मचारीलाई परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमूखीकरणको कामसमेत गरिसकेको छ ।

यसपटक ४० अंकको लिखित परीक्षा हुनेछ । ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ । २० अंक भने विद्यालय आफैले मूल्यांकन गरेर दिनेछन् । परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी हुनेछन् ।

गत वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना संक्रमणको जोखिमका कारण स्थगित भएको थियो । मंगलबार अर्थात यही मंसिर ९ गतेदेखि शुरु हुने परीक्षा १६ गते सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *