Main News

मंसिर १५ गते एकैदिन ३९४ वटा अस्पताल निर्माण थाल्ने तयारी

हिमालय टिभी
२०७७ मंसिर ७ गते ७:२३
मंसिर १५ गते एकैदिन ३९४ वटा अस्पताल निर्माण थाल्ने तयारी

७ मंसिर, २०७७ काठमाडौं । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित अस्पताल नभएका ३९४ वटा स्थानीय तहमा आगामी १५ गते एकैदिन अस्पताल निर्माण शु्रु गर्ने भएको छ ।

अस्पताल नभएका ६४९ मध्ये पहिलो चरणमा ३९४ स्थानीय तहमा अस्पताल निर्माण थालिनेछ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको हो ।

कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजनाअन्तर्गत अस्पताल नभएका स्थानीय तहहरूमा एकैपटक अस्पताल शिलान्यासको तयारी अन्तिम गरिएको हो ।

मङ्सिर १५ गते ३९४ वटा स्थानीय तहमा एकैपटक अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ ।

स्थानीय तहमा निर्माण गर्ने आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भाडामा उपलब्ध गराउन सक्नेगरी कार्यनीतिसमेत संशोधन गरिसकिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत कात्तिक ३ गते अर्थ मन्त्रालयमा सम्पन्न बैठकले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार यही मङ्सिर १५ गते भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेका यी अस्पतालको निर्माण करिब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । अहिले शिलान्यास हुने अस्पतालहरू १५ शैयाका हुनेछन्, अर्को वर्षसम्ममा अस्पताल नभएका ६४९ वटै स्थानीय तहमा १५ शैयाको नै अस्पताल बनाउने लक्ष्य लिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

अस्पतालका लागि अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख रुपियाँ बराबरको स्रोतसमेत सुनिश्चित गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *