Main News

कोरोना संक्रमणको उच्च जोखिम, रोकिएन नेपाल–भारत ओहोरदोहोर (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ६ गते १४:१३
कोरोना संक्रमणको उच्च जोखिम, रोकिएन नेपाल–भारत ओहोरदोहोर (भिडियोसहित)

६ मंसिर, २०७७ काठमाडौं । सरकारले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । नेपाल–भारत सीमा बन्द भए पनि यसको पूर्ण कार्यान्वयनमा चुनौति थपिएको छ । जसका कारण कोरोनाको जोखिम बढने क्रम उस्तै छ ।

पूर्वी नेपालको मुख्य नाका विराटनगरको रानीबाट किनमेलका लागि दैनिक सयौं नेपाली उपभोक्ता भारतीय बजार जोगवनी पुग्ने गरेका छन् । प्रहरीले किनमेलका लागि सिमापारको बजार जाने नेपालीलाई रोक्न सकेको छैन ।

मुख्यमार्गमा सुरक्षाकर्मी परिचालन गरी विराटनगरको रानी नाका बन्द गरिएको छ । तर चोरबाटो भएर दिनहुँ सयौं नेपाली उपभोक्ता भारतीय बजार जोगवनीदेखि फारबिसगञ्जसम्म किनमेलका लागि पुग्ने गरेका छन् । कोरोना संक्रमणको दर न्युनीकरणका लागि सरकारले गत चैत ११ देखि भारतीय सीमा बन्द राखेको छ । यद्यपि नेपाली उपभोक्ता सजिलै भारतीय बजार पुगेर फर्किने गरेका छन् ।

दशगजा क्षेत्रमा फालिएको फोहोर बालेर धुँवा बनाउने र त्यहीबेला नेपाली उपभोक्ता भारतीय बजार पुग्ने गरेका छन् । खुल्ला सिमानाका कारण विभिन्न कार्य प्रयोजनले सजिलै भारत जाने र सीमावारि तयारी अवस्थामा बसेको सिटी सफारीमा आफ्नो घरसम्म फर्किने क्रम दशैं अगाडिदेखि नै चलिरहेको छ ।

सरकारले तोकिएको नाकाभन्दा बाहेकबाट आवतजावत बन्द गरे पनि भारत सरकारले भने गत कात्तिक ६ गतेदेखि आफ्ना सम्पूर्ण सीमा नाका खोलिदिएको छ । भारतीय पक्षबाट कुनै रोकतोक नहुँदा नेपाली उपभोक्तालाई त्यहाँ पुग्न सहज भएको छ । सीमा क्षेत्रमा थप प्रहरी परिचालन गरेर भए पनि आगामी दिनमा सिमापार आवतजावतलाई पूर्ण बन्देज लगाउने स्थानीय प्रशासनको तयारी छ ।

मोरङ र सुनसरीमा कोरोना संक्रमणको दर अहिले उच्च छ । स्थानीय प्रशासनको फितलो निगरानी र कमजोर कारबाही क्षमताका कारण जोखिम झन बढेको छ । यसरी दैनिक सयौं नागरिक भारत जाने र फर्कने क्रम नरोकिए आगामी दिनमा कोरोना संक्रमण नियन्त्रण थप चुनौतिपुर्ण बन्ने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *