Political Hightlights

प्रस्ताव फिर्ता लिन ओली पक्षको आग्रह प्रचण्डद्वारा अस्वीकार, ओलीसँग एक्लै छलफल नगर्ने प्रचण्डको अडान (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ५ गते १८:४३
प्रस्ताव फिर्ता लिन ओली पक्षको आग्रह प्रचण्डद्वारा अस्वीकार, ओलीसँग एक्लै छलफल नगर्ने प्रचण्डको अडान (भिडियोसहित)

५ मंसिर, २०७७ काठमाडौं । दश दिन सचिवालय बैठक स्थगित गरेर सत्तारुढ नेकपाका नेताहरुले पार्टी विवाद सुल्झाउन फेरि संवाद थालेका छन् । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद गराउने प्रयास भैरहेको छ ।

पार्टी एकतानै संकटमा पर्ने गरी दुई नेताबीच आरोपप्रत्यारोप बढ्दै गएर संवादहीनता बढेपछि ओली पक्षीय नेताले दुई अध्यक्षबीच संवाद गराउने प्रयास तीब्र पारेका हुन् ।

ओलीले प्रचण्डको प्रस्तावको काउन्टरमा अर्को प्रस्ताव ल्याउनुअघि नै दुई नेताबीच संवाद गराउने प्रयास भैरहेको छ । आज ओली नेता एवं नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले प्रचण्डसँग छुट्टा–छुट्टै भेटवार्ता गर्नुभएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटमा पौडेल र नेम्वाङले प्रस्ताव फिर्ता लिन, दुई अध्यक्ष बसेर छलफल गर्न र एकताको डोरी चुँडिन नदिन आग्रह गर्नुभएको छ ।

जवाफमा प्रचण्डले आफूले एकता टुट्ने गरी प्रस्ताव नराखेको र एकता भंग हुन नदिने गरी गम्भीर ढंगले लाग्ने बताउनुभएको छ । प्रचण्डले प्रस्ताव फिर्ता नहुने सन्देश दिनुभएको छ । प्रचण्डले एकता जोगाउन ओली पनि जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

प्रचण्डसँगको भेटपछि महासचिव पौडेलले पत्रकारसँग परिस्थिति अत्यन्त गम्भीर रहेको प्रतिक्रिया दिनुभयो । नेकपा स्थायी कमिटी सदस्य नेम्वाङले भदौ २६ को स्थायी कमिटीको निर्णय अनुसार अघि बढ्न आग्रह गरेकोमा प्रचण्डले परिस्थिति त्यो भन्दा अघि बढेको जवाफ दिनुभएको छ ।

स्थायी कमिटी बैठकले ओलीले सरकार र प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी चलाउने, पार्टी र सरकार समन्वयमा चल्ने, मन्त्रिपरिषद सहमतिमा पुनर्गठन गर्ने निर्णय गरेको थियो । तर त्यसपछि पनि ओली एकलौटी ढंगले अघि बढेको भन्दै प्रचण्ड–नेपाल पक्ष ओलीसँग रुष्ट छ । र प्रचण्डले ओलीलाई विभिन्न आरोप लगाउँदै प्रस्ताव नै पेश गरेपछि नेकपा गम्भीर संकटमा छ ।

ओलीले प्रचण्डको प्रस्तावका कारण एकता प्रक्रिया अब अघि नबढ्ने बताउनुभएको छ । पहिलो आरोपको छिनोफानो हुनुपर्ने ओलीको तर्क छ ।

यसैबीच प्रचण्डले ओलीसँग बालुवाटारमा एक्लै भेट नगर्ने सन्देश पठाउनुभएको छ । पौडेल र नेम्वाङसँग पनि भेट्ने भए धुम्बाराहीमा भेटौं भनेपछि प्रचण्ड र दुई नेताबीच आज छलफल भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्