Main News

शान्ति सम्झौताको १४ वर्ष पूरा, ओझेलमै संक्रमणकालीन न्याय

हिमालय टिभी
२०७७ मंसिर ५ गते ८:२८
शान्ति सम्झौताको १४ वर्ष पूरा, ओझेलमै संक्रमणकालीन न्याय

५ मंसिर, २०७७ काठमाडौं । तत्कालिन माओवादी र सरकारबीच शान्ति सम्झौता भएको आज १४ वर्ष पूरा भएको छ ।

१४ वर्ष अगाडी आजकै दिन सरकारबीच र माओवादीले विस्तृत शान्ति सम्झौतामार्फत एक दशक लामो युद्ध अन्त्यको घोषणा गरेका थिए ।

विक्रम सम्वत २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो ।

संविधान सभामार्फत नयाँ संविधान निर्माण, माओवादी लडाकुको व्यवस्थापन, संक्रमणकालीन न्याय र आर्थिक–सामाजिक रुपान्तरणको कार्यभारसहित सम्झौता भएको थियो । शान्ति सम्झौताले निर्धारणा गरेका लक्ष्यमध्ये पाँच वर्ष अगाडि संविधानसभा मार्फत संविधान निर्माण भईसकेको छ ।

त्यसैगरी ८ वर्ष पहिला नै माओवादी लडाकुको समायोजन तथा व्यवस्थापनको काम पनि सम्पन्न भइसकेको छ । तर अयोग्य भनी बर्हिगमनमा परेका केही लडाकुले आफूहरुलाई अन्याय भएको र राहत नपाएको गुनासो गरिरहेका छन् ।

शान्ति सम्झौतामा उल्लेख गरिएको आर्थिक सामाजिक रुपान्तरणको विषय भने अझै पुरा हुन सकेको छैन । शान्ति सम्झौतामा हस्ताक्षर भएको १४ वर्षपछि पनि संक्रमणकालीन न्यायको प्रत्याभूति हुन सकेको छैन ।

१० वर्षे द्वन्द्वको क्रममा तत्कालीन राज्य पक्ष र माओवादीबाट भएका मानव अधिकार उल्लंघनका घटना छानबिन गरी सत्य तथ्य पत्ता लगाउने र दोषीलाई कार्वाही गर्ने काममा प्रगती भएको छैन ।

अहिले पनि हजारौ द्वन्द्व पीडित सत्य र न्यायको प्रतीक्षा गरिरहेका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७ सय १८ उजुरी दर्ता भएका छन् । जसमध्ये झण्डै ४ हजार उजुरीको प्रारम्भिक अनुसन्धानको काम सम्पन्न भएको छ ।

अहिले आयोगले प्रारम्भिक अनुसन्धान सकिएका उजुरीहरुलाई तीन वर्गमा विभाजन गरिरहेको छ । पहिलो, तामेलीमा राख्ने उजुरी, दोस्रो तत्काल क्षतिपूर्ति दिने उजुरी र तेस्रो थप अनुसन्धान गर्नुपर्ने उजुरी ।

त्यसैगरी बेपत्ता आयोगमा भने हालसम्म ३ हजार २ सय २३ उजुरी दर्ता भएका छन् । यीमध्ये दुई दर्जन उजुरीको प्रारम्भिक छानबिन भइरहेको छ भने २ हजार ५ सय ७ उजुरीह विस्तृत छानबिनको क्रममा रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *