राजनीति

यसरी गर्दैछन् विपक्षी दलले सरकार र ओलीमाथि हमला (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ४ गते १९:५२
यसरी गर्दैछन् विपक्षी दलले सरकार र ओलीमाथि हमला (भिडियोसहित)

४ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलोले यतिबेला राष्ट्रिय राजनीति तरंगित छ । शीर्ष नेताबीच लिखितरुपमै आरोप प्रत्यारोप चलिरहेको छ । तर नेकपाभित्रको यो झगडा अब आन्तरिक मात्र रहेन । यसले राष्ट्रिय रुपमै हलचल ल्याएको छ । विपक्षी दलले यसलाई अब सरकारमाथि हमला गर्ने हतियार नै बनाउन थालेका छन् ।

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा एउटा प्रस्ताव पेश गर्नुभयो । प्रस्तावमा प्रचण्डले सरकार सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुत्तरदायी व्यवहार देखाएको भन्दै थुप्रै संगिन आरोप लगाउनुभएको छ । र प्रचण्डका आरोपले यतिबेला नेकपाभित्र मात्रै होइन राष्ट्रिय राजनीतिमै हलचल ल्याएको छ । र प्रचण्डले प्रधानमन्त्री ओलीमाथि लगाएका आरोप जनचासोका विषय बनेका छन् । त्यसैले प्रतिपक्षी दलले यसलाई ठूलो मुद्दाका रुपमा लिएका छन् । र तीनको एकएक जवाफ कुनै पनि हालतमा जनताले पाउनैपर्ने उनीहरुको अडान छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रचण्डले उठाएका विषय अब संसद र सडकसम्म लैजाने तयारी गरेको छ । नेकपाभित्र कुनै पनि बहानामा मेलमिलाप भए पनि यी विषय गुपचुप पार्न नदिने उसको उद्घोष छ । र यसका लागि संसद अधिवेशन बोलाउने सम्बन्धमा सरकारलाई दवाब दिने उसको रणनीति छ ।

कांग्रेस मात्र होइन । जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्रीमाथि आफ्नै पार्टीभित्रबाट आरोप लाग्नुले ठूलो नैतिक प्रश्न उब्जाएको टीप्पणी गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले त ती आरोप लिएर ओली पदमा बसिरहन नमिल्ने भन्दै तत्काल पदबाट हटाउनुपर्ने जिकीर गर्नुभएको छ ।

यसरी नेकपाभित्रको शक्ति संघर्ष नमिल्दा निस्किएका आक्रोशका बाछिटा यतिबेला प्रतिपक्षीका लागि राम्रो मसला बनेको छ । नेकपाको असली रुप जनताले देख्न पाएको राप्रपाको टिप्पणी छ । अध्यक्ष प्रकाशचन्द्र लोहनीले ट्वीट गर्दै ओली र प्रचण्डप्रति कटाक्ष गर्नुभएको छ ।

भोलि उनीहरुबीच शक्ति बाँडफाँडमा कुरा मिले आज उठेका प्रश्न र लागेका आरोपलाई प्रतिपक्षीले मुद्दा बनाउने स्पष्ट भएको छ । नागरिकको जीवनसँग जोडिएका विषयमा उठेका प्रश्नका सम्बन्धमा नेकपा नेतृत्व पनि अब जवाफ दिनुपर्ने ठाउँमा पुगेको छ । राजनीतिक दाउपेचका लागि दलहरुबीच कुरा मिले पनि जनताले यसको हिसाबकिताब मज्जाले राख्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्