अन्तर्वार्ता

नेकपा महासचिव पौडेल भन्छन–पार्टी गम्भीर संकटमा छ (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ४ गते १९:१८
नेकपा महासचिव पौडेल भन्छन–पार्टी गम्भीर संकटमा छ (भिडियोसहित)

४ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टी सचिवालय समस्या सिर्जना गर्ने थलो बनेको र पार्टी गम्भीर समस्यामा परेको बताउनुभएको छ ।

पार्टीभित्र केही दिनका लागि संघर्ष विराम भएको अर्को दिन महासचिव पौडेलले नेतृत्वको भूमिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको हो । संक्षिप्त कुरा गर्दै महासचिव पौडेलले नेपाली जनता र कार्यकर्ताको भावनाविपरीत पार्टीमा सोचेभन्दा बढी समस्या देखिएको बताउनुभयो ।

पार्टीको सचिवालय समस्या समाधानको थलोभन्दा पनि समस्या सिर्जनाको थलो बनेको भन्दै महाचिव पौडेलले चर्को असन्तुष्टि व्यक्त गर्नुभयो । समस्या समाधान गर्न नसक्ने हो भने सचिवालय विघटन गरौं भनेर आफूले सचिवालय बैठकमा प्रस्ताव गरेको पनि पौडेलले जानकारी दिनुभयो ।

महासचिव पौडेलले हिजोको सचिवालय बैठकमा समस्या समाधान गर्न नसक्ने हो भने सबै सचिवालय सदस्यले राजीनामा दिएर स्थायी कमिटीबाट नयाँ नेतृत्व ल्याउनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

पार्टीका दुई अध्यक्षबीच गम्भीर आरोपप्रत्यारोप चलिरहेका बेला महासचिव पौडेलले त्यसप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । नेताहरुले सीमा र मर्यादाभन्दा बाहिर गएर भाषाको प्रयोग गरेको भन्दै त्यसलाई फिर्ता लिन पनि महासचिव पौडेलले आग्रह गर्नुभयो ।

पटकपटक विवाद चर्किँदै र केही दिनका लागि साम्य हुँदै आएको नेकपा भित्रको विवाद पछिल्लो पटक चर्किँदै गएको छ । र, पार्टी विभाजनको अवस्थामा पुगेको छ ।

कार्यकारी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गम्भीर आरोप प्रत्यारोप चलिरहेको छ । सचिवालयका बहुमत सदस्यको समर्थनमा प्रचण्डले ल्याएको प्रस्तावमा ओली संघीयता, गणतन्त्र विरोधी, भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाउनुभएको छ ।

ओलीले प्रचण्डको आरोप अस्वीकार गर्दै गलत सावित भए प्रचण्डले पद छोड्नुपर्ने बताउनुभएको छ । आफ्नो राजनीतिक जीवन सिध्याउन खोजिएको भन्दै ओलीले यसको लिखित जवाफ १३ गतेको बैठकमा दिने बताईसक्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्