Main News

कोरोनाका कारण वीरगञ्जमा छैन छठको रौनक (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ३ गते २०:१७
कोरोनाका कारण वीरगञ्जमा छैन छठको रौनक (भिडियोसहित)

३ मंसिर, २०७७ पर्सा । विशेष नियम र निष्ठापूर्वक आराध्यदेव सूर्यको आराधना गरी मनाइने छठ पर्व आजदेखि विधिवत् शुरु भएको छ । तराईको साझा साँस्कृतिको पहिचानको रुपमा मनाइने छठ पर्व कात्तिक शुक्ल चर्तुथीदेखि शुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ । तर कोरोना महामारीले गर्दा यस वर्षको छठ पूजा भव्य रुपमा मनाउन प्रशासनले रोक लगाएको छ । यसले छठपर्वको तयारी पनि प्रभावित भएको छ ।

छठपर्व शुरु भइसकेको छ । तर कोरोना संक्रमण फैलन सक्ने भन्दै काठमाडौं उपत्यकामा मात्र हैन, तराइ मधेशका जिल्लामा पनि स्थानीय प्रशासनले नदी, ताल तलाउ, पोखरीमा छठ मनाउन प्रतिवन्ध लगाएको छ ।

वीरगन्जको मुटु मानिने घडिअर्वा पोखरीमा भव्य रुपमा छठ पर्व मनाउने गरिन्थ्यो । घडिअर्वा पोखरीको छठ पूजा हेर्न देश विदेशबाट भक्तजन आउने गर्थे । तर यो वर्ष कोरोना महामारीका कारण छठ पूर्ण रुपमा प्रभावित हुने देखिएको छ ।

छठ घाटमा हुने भिडलाई नियन्त्रण गर्न सजावट, पन्डाल, साउण्ड, साँस्कृतिक कार्यक्रममा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमण फैलन नदिन छठ घाटका व्यवस्थापन समिति, राजनीतिक दल, सुरक्षाकर्मीको समन्वयमा थप व्यवस्थापन गर्दै भिडभाड हुन नदिनको लागि विभिन्न सुरक्षाका उपायहरु अपनाइएको प्रष्टिकरण दिएको छ ।

घडिअर्वा पोखरीमा मात्र नभई वीरगन्ज महानगरपालिकाको २६ स्थानमा छठ पुजा गर्न व्यवस्थापन गरिएको छ । तर सबभन्दा भिडभाड हुने घडिअर्वा पोखरी, वीरगन्जको नगवा, रानीघाट र मुर्ली पोखरी हो । यी चार छठ घाटमा छठ व्रत लिएका ब्रतालु बाहेक अन्यलाई निषेध गर्ने निति अपनाईएको छ ।

स्थानीय प्रशासनले रोक लगाएकाले छठ प्रभावित हुने भन्दै ब्रतालु महिलाहरु अन्योलमा छन् ।

छठका दिन ब्रत बस्नेले प्रसादका रुपमा ठेकुवा, भुसवा, कसार लगायतका मिष्ठान्नहरु तयार पारी नदी, तलाउ वा जलाशयमा नुहाएर अस्ताउँदो सूर्यलाई पूजा गरी पहिलो अर्घ दिइन्छ ।

अस्ताउँदो सुर्यलाई अर्घ दिन साँझ र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा श्रद्धालु भक्तजनको भिड लाग्ने गरेको छ । सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्तिका साथै सुख, समृद्धि हुने धार्मिक विश्वास रहिआएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *