Main News

निःशुल्क खाना खुवाउने स्थान खुलामञ्चबाट थापाथली सारियो

हिमालय टिभी
२०७७ मंसिर ३ गते १३:३१
निःशुल्क खाना खुवाउने स्थान खुलामञ्चबाट थापाथली सारियो

३ मंसिर, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुँदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथलीस्थित प्रसुति गृह पछाडि सारिएको छ ।

खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना रहेको भन्दै महानगरपालिकाले मंसिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो । तर मानिसहरु खाना खानका लागि लामबद्ध भएपछि हाम्रो टीम नेपालले मंगलबार खाना खुवाएको थियो ।

त्यसपछि भने महानगरपालिकाले बैकल्पिक ठाउँ दिएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टी रहेको खुला ठाउँ उपलब्ध गराएपछि आजदेखि सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिनुभयो ।

नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता भएको पनि अध्यक्ष पन्तले बताउनुभयो । उहाँले काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन बिहान ९ बजे थापाथलीमा खाना खान आउनसमेत आग्रह गर्नुभयो ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात सुचारु भएको अवस्थामा सार्वजनिक स्थलहरुमा भिडभाड हुनेगरी खाना खुवाउँदा स्वास्थ्य मापदण्ड कार्यान्वयनमा जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गरिएको बताएको छ ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले असहाय अशक्तलाई भोजन गराउने संघसंस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा नयाँ ठाउँको व्यवस्था गरिएको बताउनुभयो ।

स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी बैकल्पिक स्थानमा भोजन गराउने नीति अनुसार नयाँ ठाउँको व्यवस्था गरिएको उहाँले बताउनुभयो । निःशुल्क भोजन गराउने स्थानमा सौचालय, पानीसहितको संरचना निर्माण महानगरपालिकाले गरिदिने पनि सापकोटाले बताउनुभयो ।

यसबाहेक काठमाडौं महानगरपालिकाले काम गर्न सक्नेका लागि हप्तामा दुई दिन काम दिने व्यवस्था गरेको पनि नगर प्रहरी प्रमुख सापकोटाले जानकारी दिनुभयो । त्यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न उहाँको आग्रह छ । काम गर्न सक्नेका लागि काम दिने र नसक्नेलाई निःशुल्क खाना खुवाउने नीति महानगरपालिकाले लिएको पनि सापकोटाले स्पस्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *