Political Hightlights

वारपारको अवस्थामा नेकपा विवाद, आजको सचिवालय बैठक अन्योलमा

हिमालय टिभी
२०७७ मंसिर ३ गते ७:३२
वारपारको अवस्थामा नेकपा विवाद, आजको सचिवालय बैठक अन्योलमा

३ मंसिर, २०७७ काठमाडौं । वारपारको बाटो तय गर्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको छ ।

दुई ध्रुवमा विभाजित नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष कुनै पनि हालतमा आजको बैठक सार्ने पक्षमा छ भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष जसरी पनि सचिवालय बैठक राखेर वारपारको निर्णय गराउने अडानमा छ ।

निक्कै पेचिलो मानिएको बैठक दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ । आजको बैठक प्रधानमन्त्री ओलीकै सहमतिमा महासचिवले बोलाइएकाले ओली पक्ष दवावमा छ ।

गत शुक्रबार प्रस्तुत भएका प्रस्ताव तथा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पत्रमाथि आज छलफल गर्ने टुंगो भएको थियो । तर, आफूमाथि प्रचण्ड–नेपाल समूहले गम्भीर आरोप लगाएपछि बैठक सार्न ओलीको प्रयास जारी छ ।

ओलीले गएराती १० बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्नु भएको छ । चिनियाँ राजदूत हाउ यान्छीसँग राति साढे १० बजे बालुवाटारमा छलफल सकेर ओली पार्टी र सरकारमाथि आइपरेको संकटका विषयमा परामर्श गर्न राति नै शीतल निवास पुग्नु भएको हो ।

पार्टीभित्रको बहुमत आफूविरुद्ध प्रयोग भए संसदीय दलमा मात्र संख्या पुर्याएर नयाँ दल बनाउने ओलीको प्रयास पनि जारी छ । त्यसका लागि आफूसँग भएका सांसदले बहुमत नपुग्ने भएकाले ओलीले तत्कालिन नेकपा माओवादी केन्द्रका सांसदहरुसँग पनि परामर्श गर्नु भएको छ ।

संसदीय दलमा बहुमत नपुग्दा पार्टी विभाजन गर्न विद्यमान कानून बाधक छ । अहिलेको कानूनअनुसार संसदीय दल र पार्टी केन्द्रीय कमिटी दुवैतर्फ ४० प्रतिशत आवश्यक पर्छ । त्यसैले ओलीले संसदीय दलमा मात्र न्यूनतम ४० प्रतिशत पुर्याएर पार्टी विभाजन हुन सक्ने कानुन ल्याउन खोज्नु भएको छ ।

यसअघि पनि पार्टी फुटाउन सहज हुने गरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका ओलीले चौतर्फी आलोचनापछि फिर्ता लिनु भएको थियो । त्यतिबेला रातारात पेश भएको अध्यादेश राष्ट्रपति भण्डारीले एकै छिनमा जारी गर्नु भएको थियो । त्यसले पनि राष्ट्रपति भण्डारी विवादमा तानिनु भएको थियो ।

अहिले पनि ओलीमाथि पार्टीमा चर्को दबाब परेकाले मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपतिबाट अध्यादेश जारी हुन सक्ने आँकलन गरिएको छ । यो विकल्पमा ओलीले राष्ट्रपति भण्डारीलाई पटकपटक भेटेर छलफल गर्नु भएको छ ।

तर, राष्ट्रपतिले सकेसम्म पार्टी विवाद मिलाउन र आवश्यक परे संसदीय दलमा मात्र भएपनि बहुमत सावित गरेर बस्न प्रधानमन्त्रीलाई सुझाब दिएको बुझिएको छ । हिजो नै ओलीको सन्देश लिएर खुमलटार पुगेका महासचिव विष्णु पौडेलले प्रचण्डलाई भेटेर आजको बैठक सार्न आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्