Political Hightlights

प्रस्ताव फिर्ता लिन वा बैठक सार्न ओलीले गरेको आग्रह प्रचण्डद्वारा अस्वीकार

हिमालय टिभी
२०७७ मंसिर २ गते १४:५३
प्रस्ताव फिर्ता लिन वा बैठक सार्न ओलीले गरेको आग्रह प्रचण्डद्वारा अस्वीकार

२ मंसिर, २०७७ काठमाडौं । भोलिको सचिवालय बैठक सार्ने र सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ता लिनुपर्ने नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गर्नुभएको छ ।

आज बिहान महासचिव विष्णुप्रसाद पौडेलसँगको भेटमा प्रचण्डले प्रस्ताव पनि फिर्ता नलिने र बैठक पनि नरोकिने बताउनुभएको हो । प्रस्ताव फिर्ता लिनुपर्ने ओलीको सन्देश लिएर महासचिव पौडेल बिहान खुमलटार पुग्नुभएको थियो । तर प्रचण्डले बैठक स्थगित नहुने भन्दै त्यसैअनुसार भोलिका लागि तयारी गर्न महासचिव पौडेललाई निर्देशन दिनुभएको छ ।

सचिवालयबाट बैठक बस्ने निर्णय भएकाले कसैले चाहँदैमा बैठक रोक्न नमिल्ने र आवश्यक छलफल बैठकमै हुने प्रचण्डले जवाफ दिनुभएको छ । महासचिव पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डसँग राजनीतिक प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

पौडेलले अर्का अध्यक्ष ओलीले प्रस्तावका कारण पार्टी बैठक बस्न नसक्ने अडान लिएका कारण त्यसलाई अहिले स्थगित वा फिर्ता लिइदिन आग्रह गरेको बुझिएको छ ।

फिर्ता नलिने हो भने पनि केही दिनका लागि बैठक स्थगित गरी छलफल अघि बढाउन पौडेलले आग्रह गर्नुभएको छ । प्रस्तावका कारण बैठक बस्ने वातावरण समेत नबनेको पौडेलले बताउनुभएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न दौडधुप गरिरहेका महासचिव पौडेलले ओली र प्रचण्डसँग छलफल गरिरहनुभएको छ । पौडेलले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसँग पनि छलफल गरिरहनुभएको छ ।

यसैबीच सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भोलिको सचिवालय बैठक नरोकिने बताउनुभएको छ । हिमालय टेलिभिजनसँगको संक्षिप्त कुरा गर्दै खनालले अध्यक्ष केपी शर्मा ओलीले चाहे पनि बैठक नसर्ने बताउनुभयो ।

खनालले भन्नुभयो–बैठक भोलि कुनै पनि हालतमा बस्छ । जे निर्णय लिनुपर्ने हो सचिवालय बैठकले नै लिन्छ ।’ सचिवालयको सर्वसम्मतिले बैठक राखिएकाले त्यसबारे निर्णय गर्ने अधिकार पनि सचिवालयलाई मात्रै रहेको खनालले बताउनुभयो ।

प्रचण्डले सचिवालयमा पेश गरेको प्रस्ताव पनि सामूहिक भएकाले त्यो फिर्ता नहुने पनि उहाँले प्रष्ट पार्नुभयो । गत शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले १९ पन्ने राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । र, ओलीलाई विभिन्न गम्भीर आरोप लगाइएको प्रस्तावमा ओली पक्षले गम्भीर आपत्ति जनाएको छ ।

प्रस्ताव फिर्ता लिन ओली पक्षले प्रयास गरिरहेको छ । शुक्रबारकै बैठकले मंसिर ३ गते एक बजेका लागि बैठक बोलाएको थियो । तर अहिले ओली पक्षले बैठक बस्ने हो भने प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने शर्त राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्