खेलकूद

नेपाल र बंगलादेशबीच आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै

हिमालय टिभी
२०७७ मंसिर २ गते ७:५१
नेपाल र बंगलादेशबीच आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै

२ मंसिर, २०७७ ढाका । नेपाल र बंगलादेशबीच आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ ।

नेपाली राष्ट्रिय फूटबल टोलीले आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फूटबल श्रृंखला अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल जीत निकाल्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा पराजित भएकाले नेपाल आज जीत निकाल्दै मैत्रीपूर्ण खेलको सुखद् अन्त्य गर्न चाहन्छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोलले पराजित भएको थियो । नेपालका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले जीत निकाल्ने लक्ष्यसहित मैदान ओर्लने बताएका छन् ।

आज कोरोना संक्रमणमुक्त भएका रजिन धिमाल मैदान उत्रने सम्भावना रहेको छ । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए ।

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जीत निकाल्ने दाउमा रहेको छ । नेपालविरुद्धको दोस्रो खेलमा मुख्य प्रशिक्षक जेमी डे उपस्थित हुने छैनन् ।

कोरोना संक्रमण भएपछि उनी सेल्फ आइसोलेसनमा रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

कतारमा २ हजार २२ मा हुने विश्वकप र चीनमा २ हजार २३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेईसँग खेल्न बाँकी रहेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली अनुसार अपरान्ह पौने पाँच बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्