Main News

आज रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म खुल्ने

हिमालय टिभी
२०७७ मंसिर १ गते ७:४४
आज रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म खुल्ने

१ मंसिर, २०७७ काठमाडौं । भाइटीकाको दिन आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ।

कोरोना महामारीबीच पनि दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला गरिएको छ। भाइटीकाको दिन आज र भोलि सर्वसाधारणलाई प्रवेश मिल्ने गरी मन्दिर खोलिएको हो।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण गरिएसँगै पहिलोपटक सर्वसाधारणका लागि मन्दिर खुला गरिएको हो।

भूकम्पले क्षतिग्रस्त बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि हालै मात्र पुनर्निर्माण सम्पन्न भएको हो। काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन सो मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्। भाइटीकाकै लागि काठमाडौं महानगरले मन्दिर र पोखरीलाई बेहुलीझैँ सिंगारेर झिलीमिली पारेको छ।

सुरक्षा व्यवस्था पनि कडा पारिएको महानगरले जनाएको छ। २०३५ सालपछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ ।

भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ।

यस वर्ष मंसिर २ गते बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदैछ। किजापूजाका लागि सरकारले भोलि पनि सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *