राजनीति

प्रधानमन्त्री ओलीलाई हटाउन खोजेको भन्दै ओली पक्षले जनायो कडा आपत्ति

हिमालय टिभी
२०७७ कार्तिक ३० गते २०:२८
प्रधानमन्त्री ओलीलाई हटाउन खोजेको भन्दै ओली पक्षले जनायो कडा आपत्ति

३० कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन खोजिएको भन्दै ओली पक्षले कडा आपत्ति जनाएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले ओलीलाई राजीनामा दिन दबाब दिइरहेका बेला ओली पक्षले त्यसलाई अस्वीकार गरेको छ । दाङमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ओलीलाई हटाएर अस्थिरता निम्त्याउन खोजिएको आरोप लगाउनुभयो ।

नामै नलिई पोखरेलले प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुमाथि अस्थिरता निम्त्याउन खोजेको आरोप लगाउनुभयो । पोखरेलले सरकार परिवर्तन नहुने प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले काम गर्न नसकेको भनेर पार्टीभित्रैबाट दबाब बढिरहेका बेला पोखरेलको प्रतिक्रिया आएको छ । सरकारले काम गर्न नसकेको भन्ने आरोपको खण्डन गर्दै मुख्यमन्त्री पोखरेलले अस्थिरतामा खेल्न चाहनेहरुको खेल भन्नुभयो ।

माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको सहमतिमा प्रचण्डले सचिवालयमा पेश गरेको प्रस्तावमा ओलीका कारण पार्टी र सरकार दुवै संकटमा परेकोले बाटो छोड्नु पर्ने उल्लेख छ ।

पोखरेलले नामै नलिई त्यसको प्रतिवाद गर्नुभएको हो । प्रचण्डको प्रस्तावपछि ओली पक्ष आक्रामक रुपले त्यसको प्रतिवादमा उत्रेको छ । पोखरेलले प्रचण्डको प्रस्तावलाई एकता विरोधी भन्दै फिर्ता लिन माग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्