राजनीति

प्रचण्डलाई एक्ल्याउने दाउमा ओली, नेपाल र गौतमलाई फकाउने प्रयास विफल

हिमालय टिभी
२०७७ कार्तिक ३० गते २०:१७
प्रचण्डलाई एक्ल्याउने दाउमा ओली, नेपाल र गौतमलाई फकाउने प्रयास विफल

३० कात्तिक, २०७७ काठमाडौं । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रामक प्रस्ताव पेश गरेपछि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई आफनो पक्षमा मनाउने प्रयास गर्नुभएको छ । तर ओलीको आग्रह अस्वीकार गर्दै दुवै नेताले प्रचण्डको प्रस्तावमा स्वामित्व लिनुभएको छ ।

आज छुट्टा–छुट्टै भेटेर प्रचण्डको प्रस्ताव फिर्ता गराउन र आफूलाई साथ दिन गरेको आग्रह नेपाल र गौतमले अस्वीकार गर्नुभएको हो । आज बिहान महासचिव विष्णु पौडेलको उपस्थितिमा उपाध्यक्ष गौतमलाई भेटेर आफूलाई साथ दिन आग्रह गरेका प्रधानमन्त्री ओलीले दिउँसो वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नु भएको थियो ।

भेटमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिन आग्रह गरेपनि नेता नेपालले अस्वीकार गरेको बुझिएको छ । ‘मिलेर जानुपर्यो । दस्तावेज फिर्ता लिएर बैठक चल्ने वातावरण बनाउनुपर्यो भनेर ओलीले आग्रह गरेपछि वरिष्ठ नेता नेपालले ‘पहिले तपाइँ सच्चिनुस’ भन्ने सुझाव दिनुभएको थियो । नेपालले आफ्नै कारण समस्या आएको भन्ने स्वीकारेर अघि बढ्न पनि ओलीलाई सुझाव दिनुभएको छ ।

यस्तै उपाध्यक्ष गौतमसँगको भेटमा पनि ओलीले उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय लिन र प्रचण्डको प्रस्ताव फिर्ता गराउन आग्रह गर्नुभएको थियो । तर गौतमले त्यसलाई अस्वीकार गर्नुभएको छ । प्रस्ताव सचिवालयका बहुमत सदस्यको सहमतिमा आएको भन्दै फिर्ता नहुने प्रष्ट पार्दै छलफल गराउन आग्रह गरेको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिनुभयो ।

छलफलमा गौतमले पार्टी निर्णय माने सबै समस्या समाधान हुने भन्दै ओलीलाई सच्चिन आग्रह गर्नुभएको छ । त्यसो भएमा प्रचण्डको दस्तावेजले कुनै समस्या नहुने पनि प्रष्ट पार्नुभएको छ ।

गौतमले उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय लिन आग्रह गरेपनि गौतमले त्यो पार्टीले निर्णय गरेपछि मात्रै मान्ने जवाफ दिनुभएको छ । ओलीले उपप्रधानमन्त्रीको प्रस्ताव छ महिनादेखि गरिरहेको पनि सुवेदीले जानकारी दिनुभयो ।

ओलीले प्रचण्डको प्रस्ताव फिर्ता नभए मंसिर ३ गते सचिवालय बैठक बस्न नसक्ने संकेत गर्नुभएको छ । प्रचण्डबाट ‘अत्यन्त आक्रामक र गालिगलौजपूर्ण प्रस्ताव’ आएपछि तत्काल सहमति हुने संभावना नदेखेर ओलीले पूर्व एमाले समूहका नेतालाई मनाउने प्रयास गरिरहनुभएको छ ।

त्यही प्रयास स्वरुप ओलीले भेटवार्ता तीब्र पार्नुभएको छ । तर नेताहरुले प्रचण्डको प्रस्तावमा स्वामित्व लिँदै फिर्ता लिन अस्वीकार गर्दै आएका छन् । ओलीले नेपाल र गौतम दुवैको सहयोग पाउन आउने महाधिवेशनमा नेतृत्वबारे समझदारी गर्ने प्रस्ताव पनि राख्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्