Main News

के राजनीतिमा आउन लागिन् मनिषा कोइराला ? यस्तो छ योजना (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २९ गते १८:०६
के राजनीतिमा आउन लागिन् मनिषा कोइराला ? यस्तो छ योजना (भिडियोसहित)

२९ कात्तिक, २०७७ काठमाडौं । मनिषा कोइरालाको चिनारी अभिनेत्रीका रुपमा देशविदेशमा प्रख्यात छ । तर पछिल्लो समय उहाँ चलचित्र क्षेत्रमा भन्दा सामाजिक काममा बढी क्रियाशील हुनुहुन्छ । क्यान्सर रोगसँगको संघर्षपछि पुनर्जीवन पाएको बताउने कोइरालाको बाँकी जीवन अरुको सेवामा प्रयोग गर्ने चाहना छ ।

तर पारिवारिक सम्बन्धका कारण उहाँ राजनीतिमा आउने चर्चा पनि चलिरहेको छ । मनिषाका भावी योजना के छन् त ? हामीले उहाँसँग भेटेर जान्ने प्रयास गरेका छौं ।

तीन दशकभन्दा लामो समय बलिउडमा बिताएकी मनिषा कोइराला आलोचनात्मक चेत भएकी अभिनेत्रीका रुपमा चिनिनुहुन्छ । पछिल्लो समय भारतले अतिक्रमण गरेका भूमि समेटेर नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि कोइरालाले ट्वीटरमार्फत त्यसको समर्थन जनाउनु भयो । तर त्यसको बदलामा उहाँमाथि भारतीय मिडियाले चर्को आलोचना गरे ।

नेपालसँग बिग्रिएको सम्बन्ध सुधार्न अहिले भारत लागिपरेको छ । कोइराला यसबाट खुशी हुनुहुन्छ । तर देशको स्वाधिनता र सार्वभौतिकताको रक्षामा अटल रहनैपर्ने उहाँको धारणा छ ।

नेपालले नयाँ नक्सा जारी गरेपछि व्यक्त विचारले उहाँको छवि नेपाली माझ निकै उचो बन्यो । उहाँ राजनीतिमा आउनुपर्छ भन्नेहरु अहिले बढेका छन् । तर यसले कोइरालालाई भने असमन्जस्यमा पारेको छ । राजनीतिमा आउने कि नआउने उहाँ दोधारमा हुनुन्छ ।

८ वर्षअघि क्यान्सर लागेर निको भएपछि उहाँले अहिले दोस्रो जीवनका रुपमा लिनुभएको छ । र बाँकी रहेको जीवन देश र जनताका लागि केही गर्न चाहनुहुन्छ । तर कसरी भनेर उहाँले सोचिसक्नुभएको छैन । कोइराला परिवारको कांग्रेससँगको सम्बन्धलाई अभिनेत्री कोइरालाले राम्रोसँग बुझ्नुभएको छ । तर पछिल्लो समय कांग्रेसको छवि धुमिलिएको छ । अबको महाधिवेशनमा नेतृत्वमा जो आए पनि आफ्ना लागि नभई जनताका लागि काम गर्ने व्यक्ति आओस् भन्ने मनिषाको चाहाना छ ।

लामो समयको राजनीतिक अस्थिरता, भूकम्प, नाकाबन्दी र अहिले कोरोना कहर । देश नमज्जाले थलिएको छ भन्ने पनि उहाँलाई थाहा छ । र यो बीचमा नेतृत्वमा रहेकाले गरेका कामले जनता निरास बनेको उहाँले अनुभूति गर्नुभएको छ । तर उहाँको आशा छ नयाँ पिढीँले पूराना गल्ती सच्याउनेछन् र देशलाई मजबुद बनाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *