समाज

झिनियाँ रोटी बनाएरै वार्षिक आठ लाख आम्दानी (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २८ गते २०:३९
झिनियाँ रोटी बनाएरै वार्षिक आठ लाख आम्दानी (भिडियोसहित)

२८ कात्तिक, २०७७, पाल्पा । विशेष गरी चाडबाडमा बनाइने झिनियाँ रोटी पाल्पाका केही परिवारको जीविकोपार्जनको माध्यम बनेको छ । पाल्पाको माथागढी गाउँपालिकाका १० घर परिवारले झिनियाँ रोटी बनाएरै परिवार चलाउँदै आएका छन् ।

पाल्पा माथागढी गाउँपालिका–३, कसेनीकी केशलक्ष्मी भट्टराईले २५ वर्षदेखि झिनियाँ बनाएरै परिवार चलाउँदै आउनु भएको छ । विदेशमा काम गर्न गएका श्रीमानलाई समेत घरमै बोलाएर उहाँले झिनियाँ रोटी बनाउँदै आउनु भएको छ । भट्टराईले वार्षिक ८ लाखसम्मको झिनियाँ रोटी बेच्ने गर्नुभएको छ ।

तिहारको समयमा झिनियाँको माग उच्च हुने गर्दछ । पछिल्लो समय शहरका व्यापारीले उत्पादकको घरमै पुगेर झिनियाँ किन्ने गरेका छन् । एक दर्जनको एक सय रुपैयाँमा विक्री हुने झिनियाँ रोटी बनाउन पनि खासै दुःख छैन । घरको काम गर्दै आयआर्जनको राम्रो माध्यम बनेको झिनियाँबाट तीन लाख रुपैयाँ बचत गर्ने गरेको अर्का उत्पादक नवलप्रसाद श्रेष्ठको अनुभव छ ।

चामलको पीठो पकाएर मसिना प्वाल भएको साँचोबाट पीठोको रेसा निकाली झिनियाँ रोटी बनाइन्छ । पहिले तिहारमा मात्र बनाइने झिनियाँ हिजोआज भने विवाह, व्रतबन्ध, पूजाआजा तथा विशेष पर्वमा पनि विक्री हुने गरेको छ । घरायसी खाजाका रुपमा पनि झिनियाँलाई प्रयोग गर्ने प्रचलन बढेको छ । कम लगानीमा घरमै बसीबसी आम्दानी हुने भएपछि पाल्पामा व्यवसायिक ढङ्गले झिनियाँ उत्पादन गर्नेको संख्या बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *