Political Hightlights

पार्टी संकटमा परेको नेकपा सचिवालयको ठहर, अध्यक्षद्वयबीच यस्तो आरोप-प्रत्यारोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २८ गते १८:४९
पार्टी संकटमा परेको नेकपा सचिवालयको ठहर, अध्यक्षद्वयबीच यस्तो आरोप-प्रत्यारोप (भिडियोसहित)

२८ कात्तिक, २०७७ काठमाडौं । लामो रस्साकस्सी र विवादका बीच बसेको सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टी संकटमा परेको ठहर गर्दै एजेण्डा तय गरेको छ ।

स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन, कर्णाली प्रदेशको विवाद र भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलको भ्रमण छलफलको कार्यसूचि तय भएपनि पार्टीभित्र उत्पन्न संकट र समाधानको उपायनै मुख्य छलफलको विषय हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद पूनर्गठन, कर्णाली प्रदेशको विवाद, पर्सा घट्ना र रअका प्रमुखको नेपाल भ्रमणको विषयलाई लिएर नेकपा भित्र विवाद चर्केको छ र त्यसले नेकपाको एकतामा गम्भीर संकट उत्पन्न गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भएपनि समाधान हुनुको साटो मतभेद झन चर्किएको छ । एकअर्कालाई समस्याको कारक भन्दै ओली र प्रचण्डले एकअर्कालाई पत्र समेत लेख्नुभएको छ । ओली र प्रचण्डका आरोपपत्रलाई पनि छलफलको विषय बनाइएको छ । र, ती पत्र सचिवालय सदस्यलाई वितरण गरिएको छ । आजको बैठकमा प्रचण्डले संकट समाधानका लागि भन्दै राजनीतिक प्रतिवेदन पनि पेश गर्नुभएको छ ।

२२ गते प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टी निर्णय नमानेको, पार्टी फूटाउन खोजेको र रअ प्रमुखलाई गोप्य रुपमा भेटेर गलत गरेको भन्दै बैठक बस्न आग्रह सहित पत्र लेखेकोमा ओलीले विहीवार त्यसको प्रतिवाद गर्दै प्रचण्डलाई अर्को पत्र लेख्नुभएको थियो ।

ओलीका पत्रमा आफ्नो राजीनामा मागिएको, सरकारलाई असहयोग गरेको र घेराबन्दी उल्लेख गर्नुभएको छ । यस्तै प्रचण्डकै सहमतिमा मन्त्रिपरिषद पुनर्गठन गरेको, राजदूत पनि सहमतिमै सिफारिस गरेको दावी गर्नुभएको छ ।

तर ओलीको दावीको प्रतिवाद गर्दै प्रचण्डले आज फेरि अर्को पत्र लेख्नुभएको छ । जसमा सरकारको काम प्रभावकारी नभएको, कोरोना महामारीको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम नगरेको र जनताका समस्यामा ध्यान नदिएको उल्लेख छ ।

ओलीले जनताका समस्यामा ध्यान नदिएर गुटबन्दी गरेको र राज्यशक्तिको दुरुपयोग गर्दै बालुवाटारबाट विभिन्न नेताविरुद्ध जनशक्ति परिचालन गरिएको प्रचण्डको आरोप छ । ओलीको अहंकार र दम्भका कारण पार्टी कमजोर भएको प्रचण्डको पत्रमा उल्लेख छ । यी सबै विषयलाई नेकपाले छलफलको कार्यसूचि बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्