Main News

यो वर्ष तिहारमा देउसी–भैलो नखेल्न सरकारको आग्रह

हिमालय टिभी
२०७७ कार्तिक २७ गते ७:००
यो वर्ष तिहारमा देउसी–भैलो नखेल्न सरकारको आग्रह

२७ कात्तिक, २०७७ काठमाडौं । सरकारले यो वर्षको तिहारमा देउसी–भैलो नखेल्न आग्रह गरेको छ । देउसी–भैलो खेल्दा कोरोना संक्रमण फैलने जोखिम भएकाले यस्तो आग्रह गरिएको हो ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै घरभित्रै बसेर चाडपर्व मनाउन आग्रह गरेको छ । चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड लागू गर्न र भिडभाड नगर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो।

धेरै जिल्लाले देउसी–भैलो खेल्न प्रतिबन्ध लगाउने निर्णय नै गरिसकेका छन् । उपत्यकाका तीनवटै जिल्लामा पनि रोक लगाउने तयारी छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले यससम्बन्धी निर्णय गरिसकेको छ ।

गृह मन्त्रालयले देउसी–भैलो खेल्न बालबालिकालाई घरबाहिर जान नदिन अभिभावकहरूलाई समेत आग्रह गरेको छ । मन्त्रालयले पटाका, भुइँचम्पा, आतसबाजीजस्ता वस्तुको प्रयोगलाई पूर्ण रूपमा बन्देज गरिएको जनाएको छ ।

तिहार तथा छठको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गर्न निर्देशन दिइएको प्रवक्ता बुढाले बताउनुभयो । चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत उपत्यकामा प्रहरीले चेकजाँच बढाएको छ ।

हिजोदेखि मुख्य सडकहरूमा चेकपोस्ट थपेर चेकजाँच गरिएको छ । ट्राफिक प्रहरीले दिउँसै मापसे जाँचसमेत थालेको छ ।

यसैबीच तिहारको भाइटीकाको भोलिपल्ट अर्थात् मंसिर २ गते पनि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेवार समुदायले मनाउने किजा पूजाको अवसरमा बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच उपत्यका मेयर फोरमले तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीलाई आग्रह गरेको छ ।

बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाडौं उपत्यकामा बढ्दो सङ्क्रमणको दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

उपत्यकामा बढिरहेको सङ्क्रमण दर नियन्त्रणका लागि तिहार, छठ लगत्तै निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको उहाँले बताउनुभयो । उपत्यकामा बढिरहेको सङ्क्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उहाँले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताउनुभयो ।

सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

महामारी नियन्त्रणका लागि पालिका र सङ्घीय सरकारबीच समन्वय हुन नसक्दा समस्या झन् बल्झिने खतरा रहेकाले नियन्त्रणका लागि एकीकृत रुपमा पहल गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *