राजनीति

नेकपा विवादः ओली–प्रचण्ड पक्ष आ–आफ्नै तयारीमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २६ गते २०:१६
नेकपा विवादः ओली–प्रचण्ड पक्ष आ–आफ्नै तयारीमा (भिडियोसहित)

२६ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको विवादले नयाँ मोड लिने संभावना देखिएको छ । पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओलीको सहमति बिनै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले भोलि बैठक राखेपछि स्थिति थप पेचिलो बनेको छ । किनकी अहिलेसम्म ओली त्यसमा सहमत हुनुभएको छैन ।

ओलीले भने दुई अध्यक्षको सहमति पश्चात महासचिवले बैठक बोलाउने व्यवस्था रहेको र त्यसै अनुसार आफुले भनिसकेको तर्क गरिरहनु भएको छ । प्रचण्डले बोलाएको बैठकलाई वैधानिकता नदिने र कुनै निर्णय भए काउन्टर दिने ओली पक्षको तयारी छ ।

सत्तारुढ नेकपा अहिले गम्भीर मोडमा छ, फूटको संघारमा पुगेको नेकपाभित्र ंमिलेर बस्न सकिन्नँ भने फूटौं भन्नेसम्मको प्रस्ताव आएको छ । यसले नेकपाको अहिलेको स्थिति प्रष्ट पार्छ । फुटको डिलैमा पुगेको नेकपा जोगाउन नेताहरु लागेपनि संकट टरेको छैन । बरु विवाद थपिँदै गएका छन् । हुँदाहुँदा ओली र प्रचण्ड कसले बैठक बोलाउने भन्नेसम्मको नयाँ विवाद शुरु भएको छ ।

ओली बैठक धकेल्ने र प्रचण्ड बैठक राख्ने
बहुमत सदस्यको सहमतिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २७ गते अर्थात बिहीबारका लागि सचिवालय बैठक बोलाउनुभएको छ । र, यसमा सहमत हुन पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गर्नुभएको छ । तर ओली अझै सहमत हुनुभएको छैन ।

ओलीले छलफल गरेपनि बैठक टार्ने र धकेल्ने काम गरेपछि प्रचण्डले मिति नै तोक्नुभएको छ । प्रचण्डको यो प्रस्ताव पहिलो वरियताका अध्यक्ष ओलीको चलाखीलाई काउण्टर दिने गरी आएको छ । किनकी प्रचण्डसहितका पाँच जना सचिवालय सदस्यले बैठकका लागि सहमत हुन बुझाएको लिखित पत्रलाई आधार बनाएर विधान अनुसारको अभ्यास गर्न खोज्नुभएको छ ।

पत्रमा तोक लगाउँदै ओलीले विधान अनुसार बैठकको तयारी गर्नु भनेर महासचिव विष्णु पौडेललाई निर्देशन दिनुभएको छ । प्रचण्ड नेपालसहितको पत्रलाई बैठकको मागका रुपमा अर्थ्याउँदै र बैठक बोलाउने अधिकार आफूमा निहित रहेको सन्देशसहित ओलीले यो कदम चाल्नुभएको छ, किनकी विधानको धारा ५९ को उपधारा ४ मा २५ प्रतिशत सदस्यले लिखित मागेमा केन्द्रीय कमिटी एक महिना र अरु कमिटी १५ दिन भित्र बोलाउने व्यवस्था छ ।

प्रचण्ड नेपाल सहितको पत्रलाई ओलीले त्यही रुपमा व्याख्या गरेर स्टेप चाल्नुभएको छ । र, बैठक धकेल्नु खोज्नुभएको छ । यही बुझेका प्रचण्डले विहीवार बैठक बोलाएर बैठक बोलाउने अधिकार मलाई पनि छ भनेर सन्देश दिनुभएको छ ।

कुन पक्षको के तयारी ?

प्रचण्ड–नेपाल पक्ष
विवाद समाधानका लागि सचिवालय बैठक राखौं भनेर सहमत हुन २२ गते ओलीलाई लिखित आग्रह नै गरेको प्रचण्ड–नेपाल पक्ष ओलीको व्यवहारका कारण रुष्ट छ । तर पनि ठोस कदम चाल्न सकेको छैन । २२ गते ४८ घण्टे अल्टिमेटम दिएको यो समूहले बिहीबारसम्म पर्खने गरी बैठकको मिति प्रस्ताव गरेको देखिन्छ ।

ओलीलाई टाइम दिएको सन्देश दिने र त्यसपछि एक्सनमा जाने प्रचण्ड –नेपाल पक्षको तयारी छ । संभवतः समय दिने र छलफल गर्ने कुरालाई कमजोरी नठान्न भनेर धुम्बाराहीबाट दिइएको चेतावनी त्यसैको संकेत हो । बिहीबार औपचारिक बैठक गरेर निर्णय गर्ने यो समूहको तयारी छ ।

ओलीले स्थायी कमिटी बैठकका निर्णय उल्लंघन गरेर गल्ती गरेको ठहर गर्ने, ओलीलाई आत्मालोचना गर्न लगाउने, स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनमा जोड दिने र नयाँ ढंगको सहमति खोज्ने यो समूहको तयारी छ ।

किनकी योे समूहले अब स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनले मात्रै नपुग्ने भनिसकेको छ । त्यसैले नयाँ सहमतिका लागि ओली तयार नभए, फेरि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने र ओली विरुद्ध त्यहीँ निर्णय गर्ने प्रचण्ड नेपाल पक्षको तयारी छ । त्यसैले विहीवार सचिवालय बैठक बस्ने यो समूहको तयारी छ ।

ओली पक्ष
मिल्नै नसक्ने हो भने सहमतिमै आ–आफ्नो आफ्नो बाटो लागौ भनेर पार्टी फुटाउन लागेको आरोप खेपिरहेका ओलीले अहिले बैठकको औचित्य नरहेको बताइरहनुभएको छ ।

सचिवालयको बहुमत सदस्यले बुझाएको पत्रमा तोक लगाएर बसेका ओलीले पहिले दुई अध्यक्ष बसौं भन्ने अडानमा हुनुहुन्छ । सँगसँगै आफू निकट नेताहरुसँग बहुमत सदस्यले बसेर निर्णय गरे के गर्ने भनेर पनि छलफल गर्नुभएको छ ।

प्रचण्डले बोलाएको बैठकमा नजाने प्रष्ट पारिसकेका ओलीले विधान अनुसार बैठक बोलाउन महासचिवलाई निर्देशन दिइसकेकोले आफूले भने अनुसार बैठक बसाल्ने तयारी गरिरहनुभएको छ, किनकी यसो गर्दा बैठक बस्न तयार नभएको भन्ने आरोपको एकातिर खण्डन हुनेछ भने अर्कोतिर प्रचण्डसँग छलफल गर्नका लागि समय मिल्नेछ ।

जसका लागि ओलीले महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई खटाईरहनुभएको छ । एकातिर आफू निकट नेताहरुलाई प्रचण्ड नेपाल सँग छलफल गराएर ईंगेज गराउने र अर्कोतिर आफूले पनि छलफल गर्ने योजनामा ओली लाग्नुभएको छ । यसो गर्दा पनि बहुमत सदस्यले बैठक बसेर आफ्ना विरुद्ध निर्णय गरे आफूलाई सजिलो हुने गरी अध्यादेश ल्याउनेसम्मका योजनामा ओलीले छलफल गरिरहेको बुझिएको छ ।

अहिले दुवै पक्ष एक अर्कालाई गलाउने रणनीतिमा लागेका छ । तर दुवै पक्षको तयारी हेर्दा नेकपाथप जटिलतातिरै जाने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्