खेलकूद

खेलकूद गतिविधि ठप्प हुँदा खेलाडी निराश (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २६ गते १४:३५
खेलकूद गतिविधि ठप्प हुँदा खेलाडी निराश (भिडियोसहित)

२६ कात्तिक, २०७७ काठमाडौं । विश्वव्यापी कोरोना महामारीका कारण खेलकूदको वार्षिक कार्य तालिका नराम्रोसँग प्रभावित भएको छ । सामान्य अवस्था हुँदो हो त यतिबेला नेपालले फिफा विश्वकप छनोटको खेल खेलिसकेको हुने थियो । क्रिकेट टोली पनि अन्तर्राष्ट्रिय भ्रमणमा व्यस्त हुने थियो । तर वर्षैभरी खेल गतिविधि बन्द हुँदा खेलाडीदेखि पदाधिकारी निराश छन्।

तत्काल कोरोना नियन्त्रण हुने सम्भावना नदेखिएपछि विश्वभर विभिन्न विकल्प अपनाएर खेल क्षेत्रलाई चलायमान बनाउन थालिएको छ । तर नेपालमा भने अझै पनि खेलाडी पूर्ण रुपमा खेलमा फर्कन पाएका छैनन् ।

ओलम्पिक छनोटको तयारीमा रहेका कराँते खेलाडी र बंगलादेशसँगको मैत्रीपूर्ण फूटबलका लागि खेलाडी प्रशिक्षणमा व्यस्त भए पनि अन्य अझै मैदानमा आउने प्रतिक्षामा छन् । चार महिनापछि आयोजना हुनुपर्ने नवौं राष्ट्रिय खेलकूदमा पनि शंका उब्जिएको छ ।

चार दशक अघि शुरु भएको राष्ट्रिय खेलकूद शुरुवाती तीन संस्करणबाहेक नियमित हुन सकेको छैन् । कहिले प्रशासनिक कठिनाई र कहिले पूर्वाधार अभावका कारण प्रतियोगितामा प्रभाव परिरहेको छ ।

तर पोखरामा हुने तय भएको नवौं खेलकूदका लागि भने पूर्वाधारको समस्या नहुने राखेपको दाबी छ । खेलकूद चलायमान बनाउन खेलाडीदेखि सम्बन्धित संघले तत्परता देखाए सहयोगका लागि परिषद् तयार छ ।

अन्य देशमा विस्तारै खेल गतिविधिले गति लिइरहँदा नेपालमा भने सात महिनापछि बल्ल सरकारले स्वास्थ मापदण्ड अपनाएर खेलकूदका नियमित प्रशिक्षण शुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर प्रतियोगिताबारे कुनै निर्णय भएको छैन ।

यसले ९ महिनादेखि घरमै थुनिएका खेलाडीमा नैराश्यता छाएको छ । अझ खेलबाटै जीवनयापन गरिरहेका खेलाडीमा आर्थिकसँगै मानसिक रुपमा समेत नकारात्मक असर देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्