Main News

नेपाल-भारत सम्बन्ध सुध्रिन लागेको हो ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २५ गते २०:४१
नेपाल-भारत सम्बन्ध सुध्रिन लागेको हो ? (भिडियोसहित)

२५ कात्तिक, २०७७ काठमाडौं । सीमा विवादका कारण नेपाल–भारत सम्बन्ध चिसिएको एक वर्षभन्दा बढी भयो । यो बीचमा सीमा विवाद समाधान गर्न नेपालले पटकपटक आग्रह गर्दासमेत भारतले स्वीकार गरेको थिएन । तर पछिल्लो समय भारतका तर्फबाट विभिन्न प्रतिनिधि नेपाल आउनेक्रम लगातार चल्न थाल्नुले भने भारत नेपालसँगको चिसिएको सम्बन्ध सुधार गर्न चाहेको देखिन्छ ।

यही क्रममा भारत सरकारले आफ्ना विदेश सचिवलाई नै नेपाल पठाउने भएको छ । जुन नेपाल भारत सम्बन्ध सुधारका लागि शुभ संकेत भएको विज्ञको बुझाइ छ ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउने पक्कापक्की भएसँगै नेपाल भारतबीच संवादको ढोका खुलेको विश्लेष्ण हुन थालेको छ । भारत आफैले सिर्जना गरेको सीमा समस्या समाधानका लागि नेपालले गरेको आग्रह एकवर्षदेखि अस्वीकार गरेको भारत अहिले आफै अघि सरेको देखिएको छ । यसलाई भारतले नेपालसँग सम्बन्ध सुधार्न चाहेको विज्ञहरुलाई लागेको छ ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठका अनुसार भारतीय विदेश सचिव श्रृंगलाको नेपाल भ्रमण, रअ प्रमुख सामन्तकुमार गोयल र भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमणको निरन्तरता हो । किनकी सुरक्षा संयन्त्रका प्रमुखमार्फत नेपालको मुड बुझेपछि नै भारतले विदेश सचिवलाई पठाउन लागेको छ ।

त्यसो त भारत शक्तिराष्ट्र बन्ने होडमा छ । र नेपालसँग दूरी बढाउनु उसकै लागि घातक हुनसक्छ । त्यसैले यी सबै कुरा बुझेको भारतले त्यसैअनुसार आफ्नो छवि राम्रो बनाउन पनि अब नेपालसँग सम्बन्ध सुधार्न चाहेको विज्ञको बुझाई छ ।

तर भारतले सुधार्न खोजेको सम्बन्धलाई नेपालले केमा प्रयोग गर्छ भन्नेमा पनि विज्ञको चिन्ता छ । किनकी भारतले नेपाली भूमि हडपेपछि उत्पन्न सीमा विवाद समाधान गर्नु अहिलेको मुख्य चुनौती हो । तर नेपाल भारत सम्बन्धलाई आन्तरिक राजनीतिको हतियार बनाउने परिपाटी पनि हामी कहाँ छ, त्यसैले यसमा विज्ञहरु चिन्तित छन् ।

तर सरकार चलाइरहेको दल नेपाल कम्युनिष्ट पार्टी भने भारतले सम्बन्ध सुधारका लागि हात अगाडि बढाइसकेको भन्दै सीमा विवाद नै समाधान हुने दाबी गर्छ ।

कात्तिक ५ गते भारतीय गुप्तचर संस्था प्रमुखको नेपाल भ्रमणले जे जस्ता चर्चा र विवाद निम्तिए तीनले सीमा विवाद समाधानमा सरकार लाचार बनेको आरोप लाग्यो । तर लगत्तै भारतीय सेना प्रमुखको नेपाल भ्रमणले धेरैमा आशा जगायो । र नेपालको सन्देश बोकेर उनी दिल्ली पुगेलगत्तै विदेश सचिव नेपाल आउने पक्का भएको छ । र उनको भ्रमण सीमा विवाद समाधानको पहिलो खुड्किलो हुने धेरैको विश्वास छ ।

विदेश सचिवपछि विदेशमन्त्री र त्यसपछि भारतका रक्षा वा गृहमन्त्री मध्ये एक नेपाल आउन सक्ने पनि चर्चा छ । यस्तोमा विज्ञले चिन्ता गरेजस्तै राजनीतिक खपतका लागि मात्र नभइ सरकारले प्रमाणसहित अडानका साथ नेपाली भूमि फिर्ता लिने गरी आफूलाई तयार राख्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *