Political Hightlights

ओलीले ठोस निर्णय नदिएपछि कार्यकारी अध्यक्ष प्रचण्डद्वारा सचिवालय बैठक आह्वान

हिमालय टिभी
२०७७ कार्तिक २५ गते १४:३८
ओलीले ठोस निर्णय नदिएपछि कार्यकारी अध्यक्ष प्रचण्डद्वारा सचिवालय बैठक आह्वान

२५ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किँदै गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो चार बजेका लागि सचिवालय बैठक बोलाउनुभएको छ ।

अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी सचिवालय बैठक बोलाउनुभएको हो । त्यसैअनुसार सबै सचिवालय सदस्यलाई खबर पठाइएको छ । वरिष्ठ नेता झलनाथ खनालले चार बजे धुम्बाराहीमा बैठक बस्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति लिन लिखित पत्र बुझाएको ३ दिन हुँदा पनि ठोस प्रस्ताव नआएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बैठक बोलाउनुभएको हो ।

धुम्बाराहीमा बैठक बस्नु अघि प्रचण्ड ओलीसँग छलफलका लागि बालुवाटार जानुभएको छ । ओलीसँगको छलफलपछि प्रचण्ड धुम्बाराही जानुहुनेछ ।

प्रचण्डले बैठक राख्ने तयारी गरेपछि आज बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा पनि अध्यक्ष प्रचण्डले बालुवाटारबाट ठोस प्रस्ताव नभएपछि आफूले बैठक राख्ने तयारी गरेको बताउनुभएको थियो ।

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित बहुमत सदस्यहरु बैठक बस्ने विषयमा एक मत हुनुहुन्छ ।

यसअघि शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक बसेको थियो। त्यसको भोलिपल्ट अर्थात शनिबार सचिवालयका बहुमत सदस्यले बैठकको सहमतिका लागि अध्यक्ष ओलीलाई लिखित पत्र नै बुझाएका थिए। तर उनीहरुले दिएको समय सोमबारसम्म पनि ओलीले बैठकका लागि कुनै ठोस पहल नगरेको आरोप छ ।

त्यसैले बैठक बोलाइएको प्रचण्ड नेपाल पक्षको दावी छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भोलि संखुवासभाको किमाथाङ्का जाने तयारी गरिरहँदा आजै प्रचण्डले बैठक बोलाउनुएको छ ।

अघिल्लो अनौपचारिक बैठकमा ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा सहभागी हुनुभएको थिएन । यसैबीच प्रचण्डले बैठक बोलाएपछि अब के गर्ने भन्ने विषयमा ओलीले आफू निकट नेताहरुसँग छलफल गरिरहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्