राजनीति

जनआन्दोलनका कमाण्डर गणेशमान सिंहबाट नेपालका नेताहरुले के सिक्ने ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २४ गते २०:२९
जनआन्दोलनका कमाण्डर गणेशमान सिंहबाट नेपालका नेताहरुले के सिक्ने ? (भिडियोसहित)

२४ कात्तिक, २०७७ काठमाडौं । आज गणेशमान सिंहको १ सय ६ औँ जन्म जयन्ती । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनको सर्वोच्च कमाण्डर सिंहलाई विभिन्न कार्यक्रम गरी सम्झना गरियो । तर काठमाडौंमा आयोजित एक कार्यक्रममा भने सिंहलाई सम्झना मात्र गरिएन, विकृत बन्दै गरेको नेपाली राजीनितिलाई सिंहको जीवनले दिएको सन्देश र देखाएको मार्गचित्र राजनीतिमा अवलम्बन गर्नुपर्ने स्वर पनि ब्यूँतायो ।

पछिल्लो समय राजनीतिलाई पेशा ठान्ने परिपाटी बढ्दो छ । आफ्ना निजी स्वार्थपूर्तिका लागि होस् वा अन्य प्रयोजनका लागि हरेक क्षेत्रका व्यक्तिले राजनीतिलाई भर्‍याङ् बनाइरहेका छन । र, यो दलकै नेताहरु स्वीकार गर्छन् । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १०६औँ जन्म जयन्तीमा आयोजित कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ले राजनीतिमा बढ्दो विकृतिबारे लामै चर्चा गर्नुभयो ।

यति मात्र होइन नेम्वाङ्ले पञ्चायतको निरंकुश शासनले जनता आजित भएका बेला सिंहले लिएको नेतृत्वले राजनीतिक दललाई कसरी एकजुट बनायो भन्ने पनि स्मरण गर्नुभयो । जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले सिंहलाई प्रधानमन्त्री बन्न गरेको आग्रह स्वीकार्नु भएन । बरु नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्नुभयो । र राजनीतिलाई पेशा नभई सेवाका रुपमा चित्रण गरेर त्यागको उच्च नमूना प्रस्तुत गर्नुभयो । तर अहिलेका राजनीतिक नेतृत्व पदका लागि मरिमेटेको छ ।

नेम्वाङ्लाई मात्र होइन, फेरिँदै गएको राजनीतिक संस्कार सफा बनाउन सिंहले देखाएको बाटो अनुशरण गर्नुपर्छ भन्ने सभामुख अग्नि सापकोटालाई पनि लागेको छ।

त्यसो त गणेशमान सिंहले देखाएको बाटो नेपाली राजनीतिमा उहाँकै पार्टीले पनि समाउन सकेको देखिन्न । पार्टीभित्र आन्तरिक खिचातानी यतिबिघ्न छ की चर्चा गरी साध्य छैन । त्यसैले सिंहलाई सम्झनु भनेको त्यसै अनुसारको व्यवहार गर्नु पनि हो भन्ने आवाज कांग्रेसभित्रै उठेको छ ।

राजनीति जनताका लागि हुनुपर्ने तर पछिल्लो समय यो जनताका लागि नभइ आफू र आफ्ना आसेपासेका लागि भैरहेको छ । पद पाउन मरिहत्ते गर्ने काम भैरहेको छ । यस्तोमा गणेशमान सिंहको त्याग, समर्पणको पाठ वर्तमान राजनीतिक नेतृत्वले अनुशरण गर्न सके मात्र पनि राजनीतिलाई जनताको हेर्ने दृष्टि पक्कै फेरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्