Political Hightlights

नेकपा विवाद उत्कर्षमा पुगेपछि कार्यदल फेरि सक्रिय, प्रधानमन्त्रीसँग छलफल

हिमालय टिभी
२०७७ कार्तिक २४ गते १३:०३
नेकपा विवाद उत्कर्षमा पुगेपछि कार्यदल फेरि सक्रिय, प्रधानमन्त्रीसँग छलफल

२४ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद चरम उत्कर्षमा पुगेका बेला महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदल फेरि सक्रिय भएको छ ।

विवाद समाधानका लागि सक्रिय कार्यदलका सदस्यहरुसँग प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले छलफल समेत गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको छलफलमा ओली निकट कार्यदल संयोजक महासचिव विष्णु पौडेल, लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे हुनुहुन्छ ।

स्वास्थय र व्यवस्ताका कारण देखाउँदै छलफलमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निकट कार्यदल सदस्य जनार्दन शर्मा र पम्फा भुषाल भने सहभागी हुनुहुन्न । पार्टीभित्रबाट गत भदौमा सम्पन्न स्थायी कमिटीको निर्णय कार्यान्वयन नहुँदा समस्या आएको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुसँग छलफल अगाडि बढाउनुभएको हो ।

असार पहिलो साता शुरु भएर पार्टीको विवाद समाधानका लागि महत्वपूर्ण भूमिका खेलेको थियो । गत साउन ३० गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीले गठन गरेको कार्यदलको सुझाव परिमार्जनसहित स्थायी कमिटी बैठकले १५ बुँदे निर्णय गरेपछि भदौ २६ गते नेकपाको संकट टरेको मानिएको थियो ।

तर, कर्णाली प्रदेश र मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर पार्टी फुटको नजिक पुगेको छ । कार्यदलले स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि नेतृत्वलाई दबाब दिनेछ ।

आफूहरुले दिएको सुझावअनुसार स्थायी कमिटीले पारित गरेको निर्णय कार्यान्वयन नहुँदा समस्या आएको कार्यदल सदस्यको बुझाई छ । त्यसैले सदस्यहरुले सामूहिक छलफल गरेपछि प्रधानमन्त्रीलाई भेटेको हो । प्रधानमन्त्रीलाई भेटेपछि कार्यकारी अध्यक्षलाई पनि भेटेर कुरा राख्ने कार्यदलको तयारी छ ।

कार्यदलमा नेकपाका तीन वटै समूह ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका दुईदुई जना सदस्य छन् । ओलीका तर्फबाट पौडेल र शंकर पोखरेल, प्रचण्डका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे सदस्य कार्यदलमा हुनुहुन्छ ।

पार्टीमा देखिएको संकटबारे छलफल गर्न प्रचण्डसहित वरिष्ठ नेताद्धय झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकका लागि सहमति माग गर्दै ओलीलाई लिखित पत्र नै बुझाउनुभएको छ। प्रधानमन्त्री ओलीले अस्वीकार गर्दा बैठक अझै तय भएको छैन ।

शनिबार प्रचण्ड(नेपाल समुहले आजसम्ममा सचिवालय बैठक बोालउनुपर्ने दबाब दिएको थियो । कार्यदल सदस्यसँगको छलफलपछि सचिवालय बैठक बस्ने अपेक्षा गरिएको छ ।

पार्टीभित्रबाट चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री ओलीले हिजो मात्रै माधवकुमार नेपाललाई बालुवाटार बोलाएर सहयोगका लागि आग्रहसमेत गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्