Main News

कोरोना संक्रमणका कारण प्रदेश १ मा थप तीन जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २४ गते ९:१७
कोरोना संक्रमणका कारण प्रदेश १ मा थप तीन जनाको मृत्यु

२४ कात्तिक, २०७७, विराटनगर । कोरोना भाइरस संक्रमणका कारणप्रदेश १ मा थप तीन जनाको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा कोरोना भाइरस संक्रमित तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक महिला र दुई पुरुष छन् । दुई जनाको सोमबार बिहान र एक जनाको आइतबार राति ज्यान गएको हो । मृत्यु हुनेमध्ये एक जना प्रदेश २ को सिरहा तथा दुई जना प्रदेश १ को उदयपुर र झापाका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार उपचारकै क्रममा सोमबार बिहान ६ बजेतिर वृद्धाको मृत्यु भएको हो ।

त्यसैगरी झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको बिहान ७ बजेतिर मृत्यु भएको हो ।

अस्पतालका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रदेश बाहिर सिरहाका ६५ वर्षीय वृद्धको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको आइतबार राति १० बजे मृत्यु भएको जानकारी दाहालले दिनुभयो । मृत्यु भएकाहरुमा श्वासप्रश्वास, ज्वरो, निमोनिया, मधुमेह, उच्च रक्तचाप लगायतको समस्या रहेको अस्पतालहरुले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *