Political Hightlights

भोलिका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक २७ गतेका लागि सर्‍यो

हिमालय टिभी
२०७७ कार्तिक २३ गते १८:४४
भोलिका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक २७ गतेका लागि सर्‍यो

२३ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि सरेको छ । भोलिका लागि बोलाइएको बैठक २७ गतेका लागि सारिएको हो ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शीर्ष नेताबीच आज भएको छलफल सकारात्मक भएको बताइएको छ । क्रियाशील सदस्यता टुंगो लगाउने लगायतका विषयमा आज सहमति भएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

अन्य विषयमा पनि सहमति भएपछि बल्ल केन्द्रीय समिति बैठक बस्ने उहाँले बताउनुभयो । बाँकी रहेका मतभेद सुल्झाउन प्रस्ताव बनाएर पेश गर्न महामन्त्रीद्धय डाक्टर शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मा दिइएको छ ।

पौडेल पक्षले विभाग गठन, क्रियाशील सदस्यता लगायतका विषयमा असहमति जनाउँदै १६ बुँदे मागपत्र बुझाएपछि कांग्रेसमा सहमतिको खोजी भइरहेको छ ।

पार्टीभित्रको विवाद समाधानका लागि भन्दै कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यको बैठक केहीदिनयता बसिरहेको छ ।

विभाग गठनका विषयमा असहमति जनाएको पौडेल पक्षले आजको बैठकमा अब त्यसलाई नउचाल्ने बताएको छ । यही अवस्थामा फागुनमा महाधिवेशन गर्न संभव नहुने नेताहरुको निष्कर्ष छ ।

यद्यपि महाधिवेशन सार्नेबारे छलफल अघि नबढेको सहभागी नेताहरुले बताएका छन् । कांग्रेसले आगामी फागुन ७ देखि १० सम्म गर्ने गरी केन्द्रीय महाधिवेशनको कार्यतालिका बनाएको थियो ।

तर, त्यसअघि पूरा गर्नुपर्ने काम नहुँदा महाधिवेशन अन्योलमा परेको छ । पुस पहिलो हप्तादेखि तल्ला तहको अधिवेशन हुने कार्यतालिका भए पनि अहिलेसम्म क्रियाशील सदस्यताकै टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्