Political Hightlights

फागुनमा कांग्रेसको महाधिवेशन नहुने निश्चित, अर्को मिति तय हुन बाँकी

हिमालय टिभी
२०७७ कार्तिक २३ गते ७:२६
फागुनमा कांग्रेसको महाधिवेशन नहुने निश्चित, अर्को मिति तय हुन बाँकी

२३ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन फागुनमा नहुने भएको छ । पार्टीभित्रको विवाद समाधानका लागि जारी पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक छलफलका क्रममा शीर्ष नेताहरूबीच फागुनको महाधिवेशन सार्ने सहमति जुटेको हो ।

तर, कहिले गर्ने भन्ने टुंगो लागेको छैन । भोलिका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिकामाथि छलफल गर्ने कार्यसूची छ ।

कांग्रेसले आगामी फागुन ७ देखि १० सम्म गर्ने गरी केन्द्रीय महाधिवेशनको कार्यतालिका बनाएको थियो । तर, त्यसअघि पूरा गर्नुपर्ने पूर्वतयारीको काम सुस्त छ ।

पुस पहिलो हप्तादेखि तल्ला तहको अधिवेशन हुने कार्यतालिका भए पनि अहिलेसम्म मतदाताकै टुंगो लगाउन सकेको छैन ।

त्यसमाथि सभापति शेरबहादुर देउवामाथि १४औँ महाधिवेशन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपले हुने विश्वासको वातावरण नरहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका २७ केन्द्रीय सदस्यले १६बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

केन्द्रीय समितिको बैठकअगावै १६ बुँदेमा सहमति जुटाएर मात्रै महाधिवेशनबारे केन्द्रीय समितिमा छलफल गर्न सकिने पौडेल पक्षको दबाबपछि सभापति देउवाले केन्द्रीय समिति बैठक स्थगित गरेर विवादित मुद्दाहरूमा सहमति र पार्टीभित्र विश्वासको वातावरण बनाउने कसरत जारी राख्नु भएको छ ।

सहमति खोज्न हिजो पाँचौँपटक बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकसमेत निष्कर्षविहीन भएको छ ।

आज पनि पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक छलफल जारी रहने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्