खेलकूद

मुम्बई इन्डियन्स छैटौंपटक आईपीएल क्रिकेटको फाइनलमा

हिमालय टिभी
२०७७ कार्तिक २१ गते ७:४३
मुम्बई इन्डियन्स छैटौंपटक आईपीएल क्रिकेटको फाइनलमा

२१ कात्तिक, २०७७ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स लगातार दोस्रो पटक र समग्रमा छैटौं पटक फाइनलमा प्रवेश गरेको छ ।

रोहित शर्माको कप्तानीमा मुम्बई अब पाँचौं उपाधि जित्नबाट मात्र एक कदम टाढा छ । गत सिजनको फाइनलमा मुम्बईले चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गरेको थियो ।

त्यसअघि मुम्बई २०१७, २०१५ र २०१३ मा च्याम्पियन बनेको थियो । दुबईमा खेलिएको खेलमा मुम्बईले पहिलो ब्याटिङ गर्दै २०१ रन को लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा दिल्लीले ८ विकेटको क्षतिमा मात्र १४३ रन बनाउन सक्यो । दिल्लीका लागि मार्कस स्टोइनिसले ४६ बलमा ६५ रनको पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

जसप्रित बुमराहले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १४ रन खर्चिएर ४ विकेट लिए । दिल्लीको शुरुवात निकै खराब रह्यो । टिमले कुनै रन नै नबनाइ तीन विकेट गुमाएको थियो ।

स्टोइनिसबाहेक अक्षर पटेलले ४२ रनको योगदान दिए । यो सिजन मुम्बई र दिल्ली बीच भएको यो तेस्रो खेल हो । तीनै खेलमा मुम्बईले दिल्लीलाई हराएको छ ।

यसअघि, हार्दिक पान्ड्याले १४ बलमा ३७ रन बनाएपछि मुम्बईले ५ विकेटको क्षतिमा २ सय बनाउन सफल भएको थियो । मुम्बईका लागि ईशान किशनले सर्वाधिक ५५ र सूर्यकुमार यादवले ५१ रनको पारी खेले । दिल्लीका लागि रवीचन्द्रन अश्विनले ३ विकेट लिए । हारका बावजुद दिल्लीसँग फाइनलमा पुग्ने अझै एक मौका छ ।

सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच आज हुने इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायरमा दिल्लीले खेल्न पाउनेछ । उक्त खेलको विजेता टोली फाइनलमा मुम्बईसँग भिड्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्