Main News

भारतीय सेनाध्यक्ष नरवणेले आज के के गरे ? (भिडियो)

हिमालय टिभी
२०७७ कार्तिक २० गते २०:०५
भारतीय सेनाध्यक्ष नरवणेले आज के के गरे ? (भिडियो)

२० कात्तिक, २०७७ काठमाडौं । भारतीयस्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुभएको छ । शीतल निवासमा भएको विशेष कार्यक्रममा नरवणेले राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट मानार्थ महारथीको पदवी ग्रहण गर्नुभयो । तीन दिने नेपाल भ्रमणमा रहेका नरवणेको दोस्रो दिन आज अरु के के भयो त ?

राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाएका नरवणे यो सम्मान पाउने १८औं भारतीय सेनाप्रमुख हुनुहुन्छ । नेपाली र भारतीय सेना प्रमुखबीच मानार्थ उपाधि दिने पुरानो परम्परा अनुसार यो पटक नरवणेले यो सम्मान पाउनुभएको हो । महारथीको सम्मान पाएलगत्तै नरवणेले राष्ट्रपति भण्डारीसँग केही समय भेटवार्ता गर्नुभयो । भेटमा द्विपक्षीय सहयोगका विषयमा कुराकानी भएको छ ।

यसअघि नरवणेले आफ्ना समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्नुभएको थियो । भेटमा दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्नेसम्बन्धमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस क्रममा भारतीय सेनाका तर्फबाट नेपाली सेनाका दुई फिल्ड अस्पताललाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेपाली सेनाले पनि भारतीय सेनालाई १ लाख थान मास्क दियो ।

नरवणले आजै काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यसपछि जंगीअड्डा पुगेका नरवणेले जंगीअड्डाभित्र ओखरको विरुवा रोप्नु भयो । जहाँ नेपाली सेनाको एक टुकुडीले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानसेनापति थापाको निमन्त्रणामा हिजो नेपाल आएका नरवणे दोस्रो दिनको अन्तिम कार्यक्रमस्वरुप जंगी अड्डामा आयोजना हुने रात्रीभोजमा सहभागी हुँदै हुनुहुन्छ । यो रात्रिभोज अनौपचारिक हुने भए पनि निकै महत्पूर्ण मानिएको छ । नेपाल भारतीबीच सीमा विवाद समाधानका लागि सैन्य कूटनीतिको प्रयोग गर्नुपर्ने आवाज उठिरहेका बेला दुई देशका सेनाप्रमुखबीच यस विषयमा छलफल हुने आशा गरिएको छ ।

भ्रमणको तेस्रो तथा अन्तिम दिन भोलि नरवणे केही औपचारिक र केही निजी कार्यक्रममा सहभागी हुनुहुनेछ । जसअनुसार शुक्रबार बिहानै नरवणे हिमाल अवलोकनमा जानुहुनेछ।

उहाँ सेनाको हेलिकप्टरमा चढेर सगरमाथासहित नेपालका हिमालको अवलोकनमा जाने कार्यक्रम छ । जुन उहाँको निजी तालिकाको कार्यक्रम हो । फर्किएर नरवणेले स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । र, सबैभन्दा अन्त्यमा उहाँले प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीलाई भेट्नुहुनेछ । भोलिनै उहाँ भारत फर्किनुहुनेछ ।

सीमा विवादका कारण लामो समयदेखि संवादहीनताको अवस्थामा रहेको नेपाल– भारत सम्बन्धमा यो भ्रमणले सेतुको काम गर्ने धेरैको आशा छ । किनकी यो भ्रमणले नेपाललाई सीमा विवादका सम्बन्धमा दिल्लीको मनोदशा बुझ्ने अवसर दिनेछ भने दिल्लीलाई नेपालको ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *