राजनीति

मलाई हटाउने सबै प्रयास असफल हुन्छन् : प्रम ओली (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १९ गते २०:११
मलाई हटाउने सबै प्रयास असफल हुन्छन् : प्रम ओली (भिडियोसहित)

१९ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि आफूलाई हटाउन खोजिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । सत्तारुढ नेकपाभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा राजीनामा नदिने पनि प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले नाम नलिइ कतिपयले अस्थिरताको खेती गर्न खोजेको पनि आरोप लगाउनुभएको छ ।

शिक्षण अस्पतालमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक आफ्नो राजीनामाको प्रसंग निकाल्नुभयो । र, सहभागीलाई सोध्नुभयो मैले राजीनामा दिन मिल्छ ? तर जवाफ पनि प्रधानमन्त्री आफैले दिनुभयो –राजीनामा दिन मिल्दैन र दिन्नँ ।

अहिले सार्वजनिक रुपमा कसैले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छैनन् । जे समस्या र विवाद देखिएको छ, त्यो नेकपाभित्रै छ । पार्टीभित्र विवाद बढ्दै जाँदा र विभाजनको स्थिति सिर्जना हुँदा प्रधानमन्त्री ओलीले फेरि एकपटक आफूलाई हटाउन खोजिएको दावी गर्नुभएको छ ।

राजीनामा कसले मागेको छ भनेर उहाँले प्रष्ट त पार्नुभएन, तर आफूलाई हटाउने तयारी भैरहेको दावी गरेका प्रधानमन्त्री ओलीको यो आरोप नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका अरु नेतालाई हो भन्ने प्रष्टै हुन्छ । तर त्यो प्रयास सफल हुन नदिने ओलीले घोषणा गर्नुभयो ।

शिक्षण अस्पतालमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने अनुसार हटाउन खोजिएको यो पहिलो पटक होइन, विगतमा पनि यस्तो भएको थियो र अहिलेको प्रयास पनि त्यसकै निरन्तरता हो । किनकी आफूले जे गर्दा पनि आलोचना गर्ने प्रवृत्ति पार्टीभित्र छ ।

केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच आरोपप्रत्यारोप चलिरहेको छ । प्रचण्डका तर्फबाट ओलीले पार्टी फूटाउन खोजेको र ओलीका तर्फबाट प्रचण्डले प्रधानमन्त्री मागेको सूचना प्रवाह भैरहेको छ । र, प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाको प्रसंग निकालेर हटाउन खोज्नेहरुलाई अस्थिरताको खेती गर्ने एडिक्ट भनेर आक्रोश व्यक्त गर्नुभयो ।

गत असारमा पनि पनि प्रधानमन्त्रीले यसैगरी बोल्दा ठूलो समस्या सिर्जना भएको थियो । प्रधानमन्त्री ओलीले आफूलाई हटाउन खोजेको भनेर अहिले पनि ठीक त्यतिबेला बोल्नुभएको छ, जति बेला पार्टीभित्र बैठकको माग गर्दै मतभेद बढ्दो छ र विभाजनको अवस्थासम्म सिर्जना भएको छ ।

यस्तो बेला आएको ओलीको अभिव्यक्तिबारे अर्को पक्षले कस्तो रियाक्ट गर्छ त्यो भने हेर्न बाँकी छ । तर विकसित घट्नाक्रमले सत्तारुढ नेकपाभित्रको अवस्था असामान्य बन्दै गएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्