आर्थिक

तातोपानी नाका खुलेपनि चीनले पर्याप्त सामाग्री नपठाँउदा नेपाली व्यवसायी मारमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १८ गते २०:२४
तातोपानी नाका खुलेपनि चीनले पर्याप्त सामाग्री नपठाँउदा नेपाली व्यवसायी मारमा (भिडियोसहित)

१८ कात्तिक, २०७७ तातोपानी। पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गत बिहीबारदेखि फेरि संचालनमा आएको छ । तर चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन् । सुरक्षाका कारण देखाउँदै चिनियाँ पक्षले थोरै सामान पठाउँदा बेलैमा सामान नआउने भएपछि व्यवसायी निकै चिन्तित छन् ।

कोभिड संक्रमणको जोखिमका कारण नयाँ मापदण्ड बनाएर तातोपानी नाका खोलिएको छ । तर नाका खुलेको पहिलो दिन दुई कन्टेनर र दोस्रो दिन चार कन्टेनर मात्रै सामान नेपाल भित्रियो । चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउदै थोरै सामान पठाइरहेको छ । यसले नेपाली व्यवसायी मारेका परेका छन् । यसले व्यवसायी ऋणमा डुब्न थालेका छन् ।

नयाँ स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार नेपालतर्फको भन्सारमा २५ भन्दा बढी चिनियाँ कन्टेनरबाट नेपाली कन्टेनरमा सामान पल्टी गर्न सकिने यार्ड बनाइएको छ । एक चिनियाँ कन्टेनर सामानले नेपालका २ देखि ३ कन्टेनर भरिन्छन् ।

पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक पचासभन्दा बढी नेपाली कन्टेनर आउन सक्छन् । तर चिनियाँ पक्षले मानिरहेको छैन । सामान ढिलो आउँदा स्याउ लगायतका खाद्य सामग्री कुहिन थालिसकेका छन् । त्यसैले या त पूर्ण रुपमा खुला गर्न या पूर्ण रुपमा नाका बन्द गरेर समुद्री नाका हुँदै सामान ल्याउने वातावरण बनाइदिन व्यवसायीको सरकारसँग माग छ ।

अहिलेसम्म स्याउ र केही रेडीमेड कपडा मात्रै अएको छ । अर्बौं रुपैयाँको सामान चीनतिर थन्केको छ । र, यही गतिमा सामान आउने हो भने अहिले खरिद गरेको सामान आउन एक वर्ष लाग्न सक्ने स्वयं नेपाल सरकार स्वीकार गर्छ ।

यस्तो स्थिति हुँदा पनि चिनियाँ पक्ष नेपालको स्वास्थ्य सुरक्षा मापदण्डको कारण देखाउँदै विश्वस्त हुन सकिरहेको छैन । तर पनि धेरै भन्दा धेरै सामान भित्र्याउन पहल भैरहेको तातोपानी भन्सार प्रमुख खत्रीको दावी छ ।

चिनियाँ पक्षको चासो स्वास्थ्य सुरक्षा मापदण्डमा हो भनेर सरकारले त्यसलाई सही रुपमा पालना गराई विश्वासमा लिएर व्यवसायीका सामान भित्र्याउन ढिलो गर्नुहुन्न । तर चिनियाँ पक्षको नियतमै खोट हो भने दृढताका साथ सोधेर सरकारले समाधान निकाल्नु पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *