Main News

के नरवणेको भ्रमणले सीमा विवाद सुल्झाउन सहयोग गर्ला ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १८ गते २०:१८
के नरवणेको भ्रमणले सीमा विवाद सुल्झाउन सहयोग गर्ला ? (भिडियोसहित)

१८ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नु भारतीय सेनाध्यक्ष नरवणेको घोषित र औपचारिक कार्यक्रम हो । तर जानकारले यसलाई त्यतिमै सीमित गरेका बुझेका छैनन ।

सीमा विवादका कारण नेपाल भारतबीचको सम्बन्धमा चीसोपना आएका बेला भारतीय सेनाध्यक्षको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । नाकाबन्दी हटाउन सैन्य कूटनीतिले भूमिका खेलेको पृष्ठभूमिमा यो भ्रमणले सीमा विवादमा सम्वादहीनता अन्त्य गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । विज्ञले पनि यसका लागि सैनिक कूटनीतिको उच्चतम प्रयोग गर्न सुझाव दिएका छन् ।

२०७२ सालमा नेपालले संविधान जारी गरेलगत्तै भारतले नेपालमाथि नाकाबन्दी गर्यो । उच्च राजनीतिक तहमा पटक पटक संवाद हुँदा समेत नाकाबन्दी खुलेन । त्यसैले अन्तिम अस्त्रका रुपमा सैनिक कूटनीतिको प्रयोग गरियो । परिस्थितिलाई सकारात्मक अवतरण गराउन सरकारले सैनिक कूटनीति अवलम्बन गरेको थियो ।

त्यतिबेला नेपाली सेनाको टोली दिल्ली गएर भारतीय सेना प्रमुख दलवीर सिंहसँग भेटवार्ता गर्यो । जसले नाकाबन्दी खुलाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिन्छ । भारतकै कारण ५ वर्षपछि नेपाल भारत सम्बन्ध उस्तै मोडमा छ । सीमा विवादका कारण दुई देशबीच संवादहीनताको अवस्था छ । र यही समय भारतीय सेनाध्यक्ष नरवणे नेपाल भ्रमणमा आउँदैहुनुन्छ ।

त्यसैले नाकाबन्दीमा जस्तै सीमा समस्याले निम्त्याएको दुई देशबीचको संवादहीनता यो भ्रमणले अन्त्य गर्ने विश्वास छ पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको ।

कटवाल मात्र होइन पूर्व रक्षामन्त्री एवं कांग्रेस नेता भीमसेनदास प्रधान पनि सीमा विवाद समाधान गर्न सैन्य कूटनीतिको प्रयोग आवश्यक रहेको बताउनुहुन्छ ।

सैनिक कूटनीतिलाई देशको परराष्ट्र नीतिको एक हिस्सा पनि मानिन्छ । तर यो आफैंमा पूर्ण भने होइन । किनकी सीमा विवाद समाधान दुई देशका सैनिकले चाहेर कुरा होइन । यो उच्च राजनीतिक नेतृत्वकै हातमा छ । तर कालापानी लिपुलेक लगायतका भूमि नेपालकै हुन् भन्ने यथेस्ट प्रमाण नेपालसँग छन् ।

त्यसैले भारतीय सेनाध्यक्षमार्फत नेपाल सरकारले सीमा विवाद समाधानका लागि दिल्लीसमक्ष सन्देश पठाउन विज्ञको सुझाव छ । र, नरवणेको यो भ्रमणलाई त्यसै अनुसार प्रयोग गर्न आवश्यक छ ।

त्यसो त सेनाध्यक्ष नरवणेको भ्रमण आफैं विवादमुक्त छैन । नेपालले नयाँ नक्सा जारी गरेलगत्तै दिएको अभिव्यक्तिले नरवणेबाट सीमा विवाद समाधान गर्न पहल होला भन्ने धेरैलाई विश्वास लागेको छैन । तर नवरणेले चीनको उक्साहटमा नेपालले नक्सा जारी गरेको भन्ने अभिव्यक्ति पछि देहरादूनमा बोल्दा सच्याइसकेकाले नै भ्रमण तय भएकाले यसलाई त्यसै अनुसार प्रयोग पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको आग्रह छ ।

नाकाबन्दीका समयमा सैन्य कूटनीतिको प्रयोगबाट मिलेको सफलताले एउटा आधार दिएको धेरैको विश्वास छ । यसपटक नेपालले नरवणेको भ्रमणलाई कसरी प्रयोग गर्छ हेर्न बाँकी छ । तर समस्या भारतबाटै सिर्जना भएकाले समस्याको गाँठो फुकाउन पनि भारत तयार हुनुपर्छ भन्ने सन्देश नेपालले यो भ्रमणबाट दिन सक्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *