Main News

कर्णालीका नागरिकको भोकमा व्यापारः अनुदानको चामल अन्यत्रै बिक्री (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १८ गते २०:१५
कर्णालीका नागरिकको भोकमा व्यापारः  अनुदानको चामल अन्यत्रै बिक्री (भिडियोसहित)

१८ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशमा विगत लामो सयमदेखिको खाद्य संकट हटाउन भन्दै सरकारले हरेक वर्ष चामल ढुवानीमा अनुदान दिने गरेको छ । ६ जिल्लाका दुर्गम क्षेत्रका नागरिकलाई सुपथ मूल्यमा चामल उपलव्ध गराउन सरकारले अनुदान दिने गरेको छ ।

तर ढुवानी ठेकेदार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बदमासीले नागरिक अनुदानको चामलबाट वन्चित छन् । त्यति मात्रै होइन अनुदानको चामल मिलेमतोमा अन्यत्र विक्री गरेर ठेकेदारले नाफा कमाइरहेको समेत भेटिएको छ ।

कर्णालीमा सरकारले चामल ढुवानीमा अनुदान दिए पनि दुर्गम क्षेत्रका नागरिकले महंगोमा चामल किन्नु परिरहेको छ । आपूर्तिकर्ता ठेकेदारले कर्णालीका हिमाली जिल्ला पठाउनुपर्ने चामल भक्तपुर पठाएको घटना सार्वजनिक भइसकेको छ ।

आपूर्तिकर्ता ठेकेदार र व्यापार कम्पनीको चरम लापरवाहीका कारण दुर्गम क्षेत्रका नागरिकले सरकारी अनुदानको चामल पाउन सकेका छैनन् । आपूर्तिकर्ताले मुगुको कालेमा पठाउन चलान गरेको चामल भक्तपुर लाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । यो घटनाले कर्णालीका नागरिकको भोकमा कसरी व्यापार भइरहेको छ भन्ने देखिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वासुदेव शर्माको, शर्मा निर्माण सेवासँग चालु आर्थिक वर्षमा मुगुको कालैमा ३ हजार क्विन्टल, सोरुकोट, पुलु र कालीकोटको थिर्पुमा १–१ हजार क्विन्टल तथा दैलेखको चामुण्डा र ठाँटीकाँधमा ५–५ सय क्विन्टल चामल ढुवानी गर्ने सम्झौता गरेको छ ।

हाल मुगुको कालेका लागि १ हजार क्वीन्टल जापनिज र १ सय क्विन्टल चामल गरी ११ सय क्विन्टल चामल ढुवानीका लागि चलान गरिसकेको छ । चलान गरेको १५ दिनभित्र सम्बन्धित स्थानमा आपूर्तिकर्ताले चामल पुर्‍याइसक्नुपर्ने भएपनि १५ दिनसम्म पुगेको छैन । यता प्रहरीले चामल सहित ट्रक नियन्त्रणमा लिइसकेपछि अनुसन्धानमा सघाउने भन्दै आपूर्तिकर्ताको खोजीबाट पन्छिएको छ ।

कर्णालीका २४ स्थानमा ३१ हजार २ सय क्विन्टल चामल ढुवानीका लागि १३ वटा कम्पनीसँग सम्झौता भएको छ । यी कम्पनीले प्रदेशका ८ स्थानमा करिव ६ हजार चामल ढुवानीका लागि चलान गरिसकेका छन् । तर चामल सम्बन्धित स्थानमा पुगे नपुगेको एकिन भएको छैन । बीच बाटोबाटै चामल बेच्दा व्यवसायीले सरकारी अनुदान लुट्ने मात्र होइन, सस्तोमा किनेको चामल महँगोमा बेचेर मनग्गे कमाइरहेको भेटिएको छ । यसमा कम्पनीका कर्मचारीकै मिलेमतो रहेको आशंका गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *