Main News

यस्तो छ काठमाडौं उपत्यकामा ट्राफिक जाम र दुर्घटना कम गर्ने एकीकृत कार्ययोजना

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १८:०२
यस्तो छ काठमाडौं उपत्यकामा ट्राफिक जाम र दुर्घटना कम गर्ने एकीकृत कार्ययोजना

१८ कात्तिक, २०७७ काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ तयार भएको छ ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल संयोजक रहेको समितिले एकीकृत कार्ययोजना तयार गरी आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको हो ।

उपत्यकाको सवारी जाम कम गर्न तत्काल सडक विस्तार गर्नुपर्ने, फराकिलो बनाउनुपर्ने, सडक किनारमा रहेका वर्कसप तथा कलकारखानालाई स्थानान्तरण गर्नुपर्नेलगायतका सुझाव कार्ययोजनामा समेटिएका छन् ।

तत्काल गौरीघाट प्रहरी बिटको पर्खाल भत्काइ सडक पराकिलो पार्नुपर्ने, जडिबुटी पुल र राधे राधे पुलको बाँकी काम तत्काल सम्पन्न गर्नुपर्ने, बडीबुटी सुर्यविनायकसम्म सर्भिस लेनको बाँकी ट्याक खोल्ने र मर्मत संभार गर्ने लगायतका काम गरी सर्भिस लेन सञ्चालन गर्नुपर्ने र कोटेश्वर चोकदेखि जडिबुटी पुलसम्म दुबै तर्फको सर्भिस लेन छिटो खोल्नुपर्ने विषय कार्ययोजनामा समेटिएका छन् ।

यस्तै दीर्घकालिन रुपमा उपत्यकाका अन्य साँधुरा, सवारी चाप हुने सडक र साँघुरा चोक जङ्सनहरुको अध्ययन गरी विस्तार गर्नुपर्ने, चक्रपथ सडकको बाँकी खण्ड विस्तारका लागि योजना बनाइ सम्पन्न गर्नुपर्ने योजना पनि कार्ययोजनामा समेटिएका महाशाखा प्रमुख ढकालले बताउनुभयो ।

यस्तै बाहिरी चक्रपथको अवधारणालाई कार्यान्वयन गर्नुपर्ने, नाढुंगा सिस्नेखोला टनेल, टोखा छहरे टनेल योजना समयमै सम्पन्न गर्नुपर्ने योजना पनि समेटिएको छ ।

यसैगरी विभिन्न ठाउँमा सठक कालोपत्रे गर्नुपर्ने आवश्यकता पनि समितिले औल्याएको छ । पकनाजोल—क्षेत्रपाटी सडक, ग्वार्को—मंगलबजार सडक, गौशाला—चाबहिm—बौद्ध, मंगलबजार —सुन्धारा, जोरपाटी—सुन्दरीजल र लगनखेल—प्रयाग पोखरी सडक कालोपत्रे गर्नुपर्ने सुझाव समितिले दिएको छ ।

यस्तै जोरपाटी—साँखु, हात्तीवन—गोदावरी, कमलविनायक—नगरकोट, इमाडोल सिद्धिपुर—लुभु , सानो टिमी—बाख्रा बजार र नख्खु दोबाटो—बागडोल सर्भिस लेन पनि कालोपत्रे गर्नुपर्ने छ । समितिले सडक किनारामा स्थापना भएका पेट्रोल पम्प र वर्कसपहरु पनि स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको छ ।

यसैगरी माइतिघर—तीनकुने, सूर्यविनायक—कोटेश्वर—कलंकी सडकलार्य नमुना सडकका रुपमा विस्तार गरी पूर्ण सडक पूर्वाधार र आधुनिक प्रविधियुक्त सडकको रुपमा विस्तार गर्ने र प्रत्येक स्थानीयतहले तीन वटा सकलाई नमुना सडकको रुपमा विकास गर्नुपर्न गरी कार्ययोजना निर्माण भएको छ ।

दीर्घकालिन रुपमा उपत्यकाका सडक फराकिला बनाएर नमुना सडकका रुपमा विकास गर्ने, प्रत्येक वडामा कम्तिमा एउटा सडकलाई नमुना सडकको रुपमा विकास गर्ने र सरकारी स्तरबाट नै ट्रफिक विद्यालय सञ्चालन गरी ट्राफिक र सडक नियम सम्बन्धि प्रशिक्षण दिनुपर्ने सुझाव पनि कार्ययोजनामा समेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *