आर्थिक

लोकल कुखुरामा उपभोक्ता र किसानको यसरी बढ्यो आकर्षण (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १५:०८
लोकल कुखुरामा उपभोक्ता र किसानको यसरी बढ्यो आकर्षण (भिडियोसहित)

१८ कात्तिक, २०७७, रुपन्देही । पछिल्लो समयमा रुपन्देहीमा व्यावसायिक लोकल कुखुरा पाल्ने किसानको संख्या बढ्दै गएको छ । लोकल कुखुराको माग बजारमा बढ्दै जाँदा किसान यसतर्फ आकर्षित भएका हुन् । कम लागतमा धेरै उत्पादन हुने भएकाले किसानलाई गतिलो आम्दानी हुने गरेको छ ।

रुपन्देहीमा ब्रोइलर कुखुरा पालेजस्तै फार्म नै सञ्चालन गरेर लोकल कुखुरा पालन गर्ने बढ्दै गएका छन् । बुटवलका लिलाबहादुर थापाको समूहले बुद्धनगर एग्रो फार्म सञ्चालन गरेर अहिले ठुलो संख्यामा लोकल कुखुराको चल्ला उत्पादन सुरु गरेको छ ।

ब्रोइलर कुखुराको चल्ला उत्पादन गर्ने सोचले शुरु गरिएको फार्ममा लोकल कुखुराको माग बढ्दै गएपछि अहिले लोकल कुखुराको चल्ला उत्पादन शुरु गरिएको छ ।

बुटवलको सेमलारमा ३ वर्षदेखि राजुप्रसाद थारुले पनि लोकल कुखुरा पाल्दै आउनु भएको छ । पहिले लेज कुखुरा पाल्दै अण्डा उत्पादन गर्दै आएका थारुले बजारमा बिचौलियाले गर्दा राम्रो आम्दानी लिन सक्नु भएन । त्यसपछि उहाँ लोकलतिर आकर्षित हुनुभयो । अहिले उहाँले राम्रो आम्दानी गरिरहनु भएको छ ।

घरमै उत्पादन हुने मकैबाट नै लोकल कुखुरालाई दाना उत्पादन गर्न सकिन्छ । यसले गर्दा किसानले कम लागतमै कुखुरा उत्पादन गर्न सक्छन । करिब ७ महिनामा लोकल कुखुरा बिक्रका लागि तयार हुन्छ ।

लोकल कुखुराको बजार मूल्य अहिले किलोको सात सय रुपैंयासम्म पर्न जान्छ । जसले गर्दा कम लागतमा किसानलाई दोब्बर फाईदा हुने गरेको छ । लोकल कुखुराको बजार स्थिर भएकाले किसानको रोजाईमा पर्ने गरेको छ ।

गाउँघरमा लोप हुने अवस्थामा पुगेको लोकल कुखुराको माग पछिल्लो समयमा बढ्दै जाँदा यसको पालन गर्ने किसानको संख्या पनि बढ्दै जानु राम्रो हो । कुखुरा पालन ब्यवसायमा युवा किसानलाई पनि थप आकृषित गर्नको लागि सरकारले भने थप पहल गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *