आर्थिक

बंगलादेशले ५० हजार टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत गरिद गर्ने तयारी

हिमालय टिभी
२०७७ कार्तिक १८ गते ७:३७
बंगलादेशले ५० हजार टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत गरिद गर्ने तयारी

१८ कात्तिक, २०७७ काठमाडौं । बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको छ ।

बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हिजो जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो ।

धान रोपाइँ गर्ने समयमा मल आयातको ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयात अलपत्र पारेपछि देशभर रासायनिक मलको चरम अभाव भएको थियो ।

मुख्य धानबाली लगाउने बेलामै देशभर मलको चरम अभाव भएपछि कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत बंगलादेशसँग पैँचोमा मल माग्न अनुरोध गर्नु भएको थियो ।

कृषिमन्त्री भुसालको अनुरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच पैँचोमा मल उपलब्ध गराउनबारे टेलिफोनमा कुराकानी भएको थियो ।

भदौ दोस्रो हप्ता प्रधानमन्त्री ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच भएको मौखिक सहमतिमा ५० हजार मेट्रिक टन मल बंगलादेशले दिने र सोही परिमाणमा पछि फिर्ता गर्ने सहमति भएको थियो ।

सहमतिअनुसार बंगलादेशले अहिले मल नदिने भएपछि त्यही मललाई जीटुजीमार्फत खरिद गर्न मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिनुभयो ।

बंगलादेशले पैँचोमा नभई खरिद गरेर लैजान भनेर नेपालसँग प्रस्ताव गरेपछि मन्त्रालयले जीटुजीबाट मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो ।

प्रवक्ता केसीले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा तलमाथि भइरहने हुँदा बंगलादेशले पैँचोमा नभई खरिद गरेर नै लैजान नेपाललाई प्रस्ताव गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *