राजनीति

विभाजनको संघारमा नेकपाः ओलीले राखे छुट्टिने प्रस्ताव (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १६ गते २०:१३
विभाजनको संघारमा नेकपाः ओलीले राखे छुट्टिने प्रस्ताव (भिडियोसहित)

१६ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि विभाजनको संघारमा पुगेको छ । भदौ २६ गतेको सहमतिबाट जोगिएको एकता फेरि भंग हुने अवस्थामा पुगेको छ ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन नसक्दा पार्टी फुट्ने अवस्थामा पुगेको हो । सचिवालयका सदस्यहरुलाई आफ्नो निवासमा बोलाएर प्रचण्डले ओलीबाट पार्टी अलग बनाउने प्रस्ताव आएको ब्रिफिङ गर्नुभएको छ भने ओलीले प्रचण्डले प्रधानमन्त्री मागेको आफू निकटलाई जानकारी गराउनुभएको छ । यसले नेकपा फुटको डिलमा पुगेको प्रष्ट हुन्छ, स्वयं पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले पार्टी एकता संकटमा परेको सार्वजनिक रुपमै जानकारी दिनुभएको छ ।

महासचिव पौडेल निराश, भन्छन–एकता गम्भीर संकटमा
पार्टीभित्र विवाद र संकट भएपनि खासै सार्वजनिक रुपमा नबोल्ने तर भित्रभित्र मिलाउन लाग्ने महासचिव विष्णुप्रसाद पौडेलले आइतबार एकाएक पार्टी संकटमा छ भनेर फेसबुक र ट्वीटरमार्फत सार्वजनिक गर्नुभयो ।

उहाँका अनुसार अहिले नेकपाको एकता गम्भीर संकटमा छ । त्यसैले पार्टी एकता रक्षाका लागि योगदान गर्न पौडेलले सबै नेता कार्यकर्तालाई अपील गर्नुभएको छ । यसले नेकपाभित्रको अवस्था चित्रित गर्छ । किनकी अब पौडेलले अपीलले प्रष्ट पार्छ । अब नेकपाको एकता जोगाउन नेताहरुले मात्रै सक्दैनन् । त्यसका लागि तलदेखि माथिसम्म नेता कार्यकर्ताको दबाब आवश्यक छ ।

एकता कसरी संकटमा पर्‍यो भन्ने पनि पौडेलले प्रष्ट संकेत गर्नुभएको छ । दुई अध्यक्षबीचको अन्तरविरोधले नै एकता संकटमा परेको छ । दुई अध्यक्ष ओली र प्रचण्डबीच ११ दिनपछि शनिबार भेट भए पनि सहमति जुटन सकेको थिएन । योसँगै विवाद थप बढेको आंशका भैरहँदा महासचिव पौडेलले पार्टी एकतामा संकट परेको सार्वजनिक रुपमै जानकारी दिनुभएको छ ।

प्रचण्डको ब्रिफिङ–ओलीले अलग हुने प्रस्ताव गर्नुभयो
नेकपाका दुई अध्यक्षबीच शनिबार बालुवाटारमा दुईघण्टा छलफल भयो, सचिवालय बैठक बोलाउने विषयमा दुई नेताबीच लगभग सहमति भएपनि कहिले बोलाउने भन्ने विषयमा सहमति जुटेन । र, बरु छलफल चल्दै जाँदा विवाद बढ्यो । र, ओलीले अब सँगै बस्न नसकिने प्रस्ताव गर्नुभयो ।

ओलीले अलग हुने प्रस्ताव गरेको प्रचण्डले आइतबार अरु सचिवालय सदस्यहरुलाई खुमलटारमा ब्रिफिङ गर्नुभयो । खुमलटार छलफलपछि प्रचण्डको भनाई उधृत गर्दै एक सचिवालय सदस्यले भने– प्रधानमन्त्रीजीले सँगै जान सकिएन, अब अलग–अलग लागौं भनेर प्रस्ताव गर्नुभयो ।’

आइतबारको टेलिफोन सम्वादमा पनि ओलीले त्यसो भनेको प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जानकारी गराउनुभएको छ । अब के गर्ने भन्ने प्रष्ट नभए पनि उनीहरुले ओली एक्लै हिंड्न खोजेको निष्कर्षमा पुगेका छन् ।

ओलीको दावी–प्रचण्डले प्रधानमन्त्री मागे
प्रचण्डले ओलीमाथि पार्टी फूटाउने खोजेको आरोप लगाउँदा ओलीले प्रचण्डमाथि प्रधानमन्त्री पद मागेको आरोप लगाउनुभएको छ । शनिबारको छलफलमा प्रचण्डले प्रधानमन्त्री मागेको ओलीले आफू निकट नेताहरुलाई जानकारी गराउनुभएको छ ।

ईश्वर पोखरेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरुसँग ओलीले प्रचण्डले आफूलाई हटाउन चाहेको ब्रिफिङ गर्नुभएको छ । तर आफूले कसैको दबाबमा नछोडने बरु सामना गर्ने ओलीको अडान छ । ओलीले आइतबार यो छलफलपछि महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापासँग पनि छुट्टै छलफल गरेको बुझिएको छ ।

फेरि अध्यादेशको डर
गत वैशाख पहिलो हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फूटाउन सजिलो हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभयो, जसमा केन्द्रीय समिति वा संसदीय दल जसमा ४० प्रतिशत भए पनि पार्टी फूटाउने मिल्ने व्यवस्था थियो । तर पछि सर्वत्र विरोध भएपछि सरकार त्यसबाट पछि मात्रै हटेन त्यो अध्यादेश संघीय समाजवादी फूटाउन ल्याइएको थियो भनेर बचाउ गर्ने कोशिस समेत भयो । तर नेकपाकै नेताहरुले ओलीले पार्टी फूटाउन चाहेको भनेर विश्वास गरेनन ।

अहिले प्रचण्ड–नेपाल समूह फेरि अध्यादेश आउने हो कि भन्ने आशंकामा छ, किनकी प्रधानमन्त्रीले पार्टी अलग गरौं भनेर त्यसै भनेको होइन भन्ने उसको बुझाई छ । संसद नभएको बेला प्रधानमन्त्रीलाई अध्यादेश ल्याउने छुट छ ।

नेताहरुलाई काठमाडौं बोलाइयो
पार्टी विभाजनको संघारमा पुगेपछि स्थायी कमिटी तह र संघीय सांसद रहेका नेताहरुलाई काठमाडौं बोलाइएको छ । पार्टीमा असामान्य अवस्था सिर्जना भएकाले बोलाइएको र त्यसैअनुसार उनीहरु काठमाडौंका लागि हिंडेका छन् ।

गत भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशको पार्टी विवाद र भारतीय गुप्तचर रअका प्रमुखको अचानक भएको नेपाल भ्रमणले ओली र प्रचण्डबीच विवाद बढेको छ ।

प्रचण्ड–नेपाल समूहले ओलीबाट पार्टी निर्णय उल्लंघन भएको आरोप लगाउँदै आएको छ भने ओलीले आफूलाई असफल गराउने खेल मात्रै भैरहेको आरोप लगाउनुभएको छ । र, यही विवादले नेकपा विभाजनको मोडमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्