Main News

देशका विभिन्न जिल्लामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १६ गते १३:०६
देशका विभिन्न जिल्लामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

१६ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट बारा, कास्की, बाँके र सुर्खेतमा थप एकएक जनाको मृत्यु भएको छ ।

बारामा कांग्रेसका महासमिति सदस्य मदन मण्डलको संक्रमणका कारण निधन भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको आज बिहान मृत्यु भएको हो ।

वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट हिजो मात्रै पोजेटिभ आएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल ल्याउने क्रममा वहाँको बाटोमै मृत्यु भएको कांग्रेस बारा क्षेत्र नम्बर १ का सभापति विजयशंकर यादवले जानकारी दिनुभएको छ ।

उता कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–नाइन्टिन उपचार केन्द्रमा थप एकजना संक्रमित पुरुषको मृत्यु भएको छ । यही कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भई प्रतिष्ठानमा उपचाररत अन्नपूर्ण गाउँलिका–३ का ४७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टीकापुर नगरपालिका–१ कैलालीका ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । मृतक यही कात्तिक १४ गतेदेखि प्रि–आइसोलेसन वार्डमा भर्ना भएका थिए । उनलाई अर्को दिन १५ गते संक्रमण पुष्टि भएको थियो ।

उता सुर्खेतस्थित प्रादेशिक अस्पतालमा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको पनि गएराति नै मृत्यु भएको छ ।

मृतकलाई दशैंको सप्तमीको दिन ज्वरो आएपछि छिन्चुमा टाइफाइडको आशंकामा उपचार गरिएको थियो । तर सञ्चो नभएपछि बाँकेको कोहलपुर लगिएकोमा पीसीआर परीक्षण गर्दा त्यहाँ संक्रमण पुष्टि भएको थियो ।

तर कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे पुर्‍याइएको थियो । तर अस्पताल पुगेको एक घण्टाभित्रै संक्रमितको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसी जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *