Main News

दशैँको टीका नपुछिँदै भारत जान बाध्य छन् सुदूरपश्चिमेलीहरु (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १५ गते २०:०८
दशैँको टीका नपुछिँदै भारत जान बाध्य छन् सुदूरपश्चिमेलीहरु (भिडियोसहित)

१५ कात्तिक, २०७७ धनगढी । कोरोना महामारीकाका कारण स्वदेश फर्किएका सुदूरपश्चिमका नागरिक रातो टीका नपुछिँदै पुनः भारत जान बाध्य छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना कहरबीच नेपाल आएका नागरिकलाई यतै रोजगारी दिने बाचा गरे पनि कार्यान्वयन नभएपछि सीमा नाकामा भारत फर्कनेको लर्को लाग्न थालेको छ ।

सुदूरपश्चिमका नाकाबाट कामको खोजीमा भारत जानेको लर्को दशैं लगत्तै फेरि शुरु भएको छ । भारत जान कोही धनगढी बसपार्कका होटलमा टिकट लिने हतारोमा छन् त कोही गौरीफन्टा नाकामा लाम लागेका छन् । दशैँ नसकिदै तिहार आउन २ साता मात्रै बाकीँ रहँदा भारत जानु उनीहरुको रहर होइन । तर २,४ पैसा कमाउन र लालन पालनकै लागि मुग्लान पस्नुपर्ने बाध्यता छ ।

कैलालीका भीम बहादुरजस्तै हजारौँ नेपाली अहिले सुदूरपश्चिमका विभिन्न नाका प्रयोग गरी भारत जान बाध्य छन् । केही बर्ष पहिले यति बेला भारतबाट नेपाल आउनेको संख्या बढी हुने गरेको थियो । तर यसपटक उता जानेको संख्या धेरै छ । युवा, वयस्क, महिलादेखि वृद्ध उमेरका नागरिक पनि गौरीफन्टा नाकामा भेटिन्छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाका कारण स्वदेश फर्किएका बेरोजगार युवालाई रोजगारी दिने बताउँदै आएको छ । त्यसका लागि योजना पनि बनाइएको भनिएको छ । तर कार्यान्वयनमा भने आउन सकेको छैन । मुख्य मन्त्री त्रिलोचन भट्टले भने रोजगारी सिर्जना गर्ने बताउन छाड्नु भएको छैन ।

भारतमा ऊर्जावान समय बिताएका मुख्यमन्त्री भट्टले भारत जाने बाध्यता अन्त्य गर्ने भाषण गर्दै आउनुभएको छ । तर उहाँका घोषणा भाषणमै सीमित भएका छन् । स्वदेशमा काम नपाएपछि हजारौं नागरिक टीका थापेर फेरि भारत जान नाकामा लाइन लागेकै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *