आर्थिक

रामेछापको फलफूल खेतीमा किरा लाग्ने समस्या, आम्दानी घट्ने चिन्तामा किसान (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १५ गते १६:४३
रामेछापको फलफूल खेतीमा किरा लाग्ने समस्या, आम्दानी घट्ने चिन्तामा किसान (भिडियोसहित)

१५ कात्तिक, २०७७ रामेछाप । रामेछापमा अमिलो प्रजातिका फलफूल खेतीबाट किसानले राम्रै आम्दानी गर्दै आएका छन् । तर केही वर्षदेखि भने अमिलो प्रजातिका फलफूलमा किरा लाग्ने समस्या देखिएसँगै किसानहरुको आम्दानी घट्ने जोखिम बढेको छ ।

रामेछाप जुनारका लागि चर्चित छ । यहाँको जुनार काठमाडौंमा मात्र होइन। छठ पर्वका लागि प्रदेश २ को राजधानी जनकपुरधाममा समेत पुग्ने गरेको थियो । तिहारमा पनि जुनार बिक्री राम्रै हुन्थ्यो ।

तर यसपटक रामेछापका किसान जुनार बेच्न नपाउने स्थितिमा पुगेका छन् । जुनारमा औंसा किराको प्रकोप देखिएको छ । जस्ले गर्दा जुनारका दाना लागेदेखि नै झर्न थाले । बचेका दाना अहिले पनि आफैं झरिरहेका छन् ।

किरा लागेर जुनार झर्न थालेपछि व्यावसायिक रुपमा खेती गर्दै आएका किसान यो वर्ष लगानी नै नउठ्ने भन्दै चिन्तित छन् । रामेछापको सुकाजोर, ओख्रेनी, देउराली, सालु, डडुवा, गौश्वारा लखनपुर, फुलासी र हिलेदेवीका किसानले ३२ वर्षदेखि व्यावसायिक रुपमा जुनार खेती गर्दै आएका छन् ।

प्राविधिक ज्ञान र औषधि अभाव भएकाले जुनारलाई किराबाट जोगाउन नसकेको किसान बताउछन् ।

अमिला प्रजातिका फलफूलबाटै रामेछापका किसानले वार्षिक दुई करोड रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । तर केही वर्षदेखि भने जुनारमा मात्रै होइन, कागती, निबुवा, भोगटे जस्ता अमिला प्रजातिका फलफूलमा किरा देखिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *