Main News

बढ्दो लागु औषध दुर्व्यसन र कारोबार, बढायो सुरक्षा चुनौती (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १४ गते १७:१५
बढ्दो लागु औषध दुर्व्यसन र कारोबार, बढायो सुरक्षा चुनौती (भिडियोसहित)

१४ कात्तिक, २०७७ काठमाडौं । पछिल्लो समय नेपालमा लागु पदार्थ सेवन तथा कारोबार बढ्दै गएको छ । विश्वमै लागु पदार्थ चुनौती बनिरहेको अवस्थामा नेपालमा हरेक वर्ष यसको सेवन तथा कारोबार बढ्दै जानु चिन्ताको विषय बनेको सरोकारवालाको बुझाइ छ ।

आर्थिक वर्ष २०७४–७५ मा प्रहरीले लागु पदार्थ कारोबार तथा दुर्व्यसनमा संलग्न रहेको आरोपमा ४ हजार ७ सय ५४ जनालाई पक्राउ गरेको थियो । २०७५–७६ मा त्यो बढेर ५ हजार ५ सय ५८ भयो । आर्थिक वर्ष २०७६–७७ मा केही घटेर ४ हजार ५ सय ५४ मा झर्‍यो ।

तर चालू आर्थिक वर्षको पहिलो ३ महिनामै लागु पदार्थ कारोबार तथा दुर्व्यसनमा ८ सय ७५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार यो संख्या यो वर्ष झनै बढ्न सक्ने छ । किनकी लागू औषधको प्रयोगकर्तामा अधिकांश बेरोजगार मानिस नै छन् । र बर्षेनी बढदै गरेको लागु पदार्थ कारोबार तथा दुर्व्यसनको संख्याले मुलुकमा ठूलो सुरक्षा चुनौती थपिरहेको छ ।

प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा धेरै जसो किशोर छन् । लागु औषध नियन्त्रण व्यूरोका अनुसार वार्षिक १ लाख ५० हजारभन्दा बढी ब्रुपिनर्फिन, डाइजिपाम फिनार्गन बरामद हुने गरेको छ । यी बाहेक गएको तीन वर्षमा झण्डै २० हजार किलो गाँजा, ५ हजार किलो चरेस, २० किलो भन्दा बढी हेरोइन्, १ सय केजीभन्दा बढी अफिम र झण्डै २० केजी कोकिन पनि बरामद भएको छ ।

ब्रुपिनर्फिन डाइजिपाम लगायतका लागु पदार्थ भारत लगायतका देशबाट नेपाल भित्रिन्छ भने गाँजा अफिम नेपालमै लुकिछिपि उत्पादन हुन्छ । यसरी हरेक वर्ष लागु पदार्थ प्रयोग र कारोबार बढ्नुमा लागु औषध नियन्त्रण प्राथमिकतामा नपर्नु नै कारण रहेको नेपाल प्रहरीका पूर्व उच्च अधिकारी बताउँछन् ।

लागू औषध नियन्त्रण आफैंमा संवेदनशील छ । किनकी यसले देशको ऊर्जाशील जनशक्तिलाई कुलतमा फसाउने काम त गरेको छ नै त्यो भन्दा बढी सुरक्षा चुनौती पनि बढाउँदै गएको छ । तर नियन्त्रणमा सुरक्षा निकायको एकल प्रयासले मात्र सम्भव छैन । त्यसैले लागू औषध नियन्त्रण गर्न सुरक्षा निकायले गरेका प्रयासमा आम नागरिकलाई सहयोग गर्न सुरक्षा निकायको आग्रह छ ।

त्यसो त लागु औषध नियन्त्रणका लागि ऐन नभएको होइन । तर प्रभावकारी कार्यान्वयन भएको देखिन्न । यस्तोमा सरकारले लागु औषध नियन्त्रणलाई गम्भीरताका साथ लिएर बजेटदेखि श्रोत साधन बढाउन पनि ध्यान दिँदै कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *